“पातल लोक”-को उपहास, नेपाली सेन्टिमेन्टले कसरी उत्तर दिने ?

Paatal Lok reviews and reactions
भर्खरै “पातल लोक” नामक वेब सिरिजमा “नेपाली व्होर” गाली चलाएकोमा नेपाली समाज साथै भारतको अन्य उत्तर-पूर्वी जनमानसमा पनि धेरै नै हीनताको भाव उब्जेको छ। धेरै समूहहरू आक्रोशित पनि बनेका छन्। भारतीय गोर्खाहरुका धेरैवटा सङ्गठनहरुले राष्ट्रीय स्तरमा भनौँ वा स्थानीय तहमा विरोध देखाइरहेका छन्। अदालतसम्म मामला पुऱ्याउने तर्खर रहेको छ। “पातल लोक”-को निर्माता, निर्देशक लगायत सम्पूर्ण टीमलाई क्षमा याचना गरेर उक्त सिरिजबाट सोही सिनको आवाज मूक राखिमाग्ने साथै सबटाइटल पनि हटाइदियाजाओस् भन्ने धारणा व्यक्त भइरहेको छ। उक्त वाक्यले सम्पूर्ण नेपाली जातिको आत्मसम्मानमा ठेस् पुगेको आभास भएको हुनाले यस्ता वक्तव्यहरु वास्तवमा घरि-घरि किन आइरहन्छ? नेपालीले किन यस्तो लाञ्छना सुनिरहनु पर्छ त? नेपालीलाई मेनल्याण्ड ईण्डियामा किन हेपिनु परिरहेछ? भारतमा बसेर किन भारतीय हुनुको प्रमाण दिनु परिरहेको छ? र यस्ता प्रश्नहरुको उत्तर कसरी दिने भन्ने विषयमा छोटो चर्चा गर्न गइरहेछु । यो चर्चामा मैले चलन-चल्तीको भाषा चलाएको छु, कारण यो लेखको पाठक भनेको साधारण जीवन बिताइरहँदा यस्तो पीड़ा झेल्नु परिरहेकाहरु नै भएको हुनाले विशेष तिनीहरुकै भाषामा लेख्न खोजेको हुँ।
अब कुरा गरौँ यो “घटना” आखिरमा के हो त? ती गाली जसले दिए अनि गाली जसले खाए तिनीहरुले वास्तवमा के जनाउँछन् वा कसलाई प्रतिनिधित्व गर्छन् त? र किन घरि-घरि नेपाली समुदाय उपहासको शिकार बनिरहँनु पर्छ? विस्तृत रूपमा बुझौँ अब।

भारत एउटा वृहत महादेश हो जहाँ धेरै विकासशील र पछाड़िएका जाति एकैसाथ रहने गर्दछ। विकासशील जातिहरु मूलधारामा रहे भने पछाड़िएकाहरु किनाराकृत भएर बसे। मूलधाराकाहरुले हातमा सत्ता सम्हालेर शासन गर्छन् भने किनाराकृतहरु तिनीहरुको अधीनमा दबेर शोषित भइरहन्छन्। के शासकले शोषितलाई यसरी उपहास गर्नु ठीक हो र? के यसरी नेपाली समाज भारतीय मूलधाराको उपहास मात्र पहिलो चोटी बनेको हो र?

मुख्यतः यी उपहासहरुको उत्तर दिने तरिका के हो? विरोध कसरी गर्नु पर्ने हो? यस विषयमा चर्चा गरौँ।

यी सबै बुझ्नको निम्ति एउटा ऐतिहासिक क्रमलाई बुझ्नु पर्ने हुन्छ। कसरी यस्ता चलनहरु शुरु भएको हो? यसले कुन प्रणाली मानेर चल्छ? यी सबैको नियमलाई जबसम्म बुझ्दैनौँ तब सम्म यो समस्याबाट निकास पाउन सक्दैनौँ। यसो हेर्दा यसले भारतको नेपालीलाई मात्र होइन तर विश्वभरि नै छरिएर बसेको नेपालीलाई समेटेर आघात पुऱ्याएको छ। तसर्थ घटनाक्रमलाई हेर्दा भौगोलिक सीमाको छेकानालाई नाघेर हेर्नु आवश्यक छ।
भारतमा भारतीय नेपाली र नेपालको नेपालीले गर्दा पहिलेबाट नै पहिचान सङ्कटमा परेको छ तर मूलधाराकाहरुले दुवैलाई एउटै देख्छन्। भिन्न-भिन्नै देख्ने चस्मा नै छैन तिनीहरुसँग । यो कन्फ्युजनले अर्कै भूमिका खेलेको छ।

१९८६ -मा सुभाष घइको फिल्म “कर्मा”-मा भारतको मानचित्रमा नेपाल भारतकै हिस्सा देखाइएको हुँदा नेपालमा विरोध भएको थियो। १९९८-मा डेविड धावनको फिल्म “घरवाली बाहारली”-मा नेपाली नारी चरित्र र नेपाली संस्कृतिलाई नीच देखाइएकोमा पनि विरोध भएको हो। २२ दिसम्बर १९९८ -मा काठमाण्डौको एउटा कार्यक्रममा माधुरी दिक्षीतले “नेपाल भारतको हिस्सा होइन भनेर थाहा नै थिएन” भनेर टिप्पणी गर्दा पनि विरोध भएकै हो। २००० सालको दिसम्बर महिनामा “स्टार प्लस”-को एउटा अन्तर्वार्तामा “ऋतिक रोशन”-ले “नेपाल र नेपालीलाई घृणा गर्छु” भन्दा पनि विरोध भएकै हो। २००९ मा अक्षय कुमार अभिनित चलचित्र “चाँदनी चौक टु चाइना”-मा “बुद्ध भारतमा जन्मेको हो” भन्दा पनि विरोध भएको नै हो। “ज़ी टी भी”- को धाराबाहिक “बुद्ध राजाओँ का राजा” – मा पनि “बुद्ध” भारतमा नै जन्मेको देखाउँदा विरोध भए। २००७-मा जब “प्रशान्त तामङ” सोनी टेलिभिजनमा सिजन ३ -को “इण्डियन आइडल” बनिँदा पनि दिल्लीको एकजना रेडियो जकीले “ चौकिदार से इण्डियन आइडल” टिप्पणी गर्दा पनि विरोध भएकै हो। १९७९ -मा “अखिल भारतीय नेपाली भाषा समिति”-ले ज्ञापन पत्र बुझाउन जाँदा भारतका तत्कालीन डेप्यूटी प्रधान मन्त्री मोरार्जी देसाइले नेपाली भाषालाई “विदेशी-भाषा” भन्दा पनि विरोध भएकै हो। यसरी माथिबाट लाञ्छना लगाइरहे अनि तलबाट विरोध गरि नै रहे। विरोधको फलस्वरुप धेरै सच्याइए तापनि माथिबाट तल हेर्ने दृष्टिकोण अहिलेसम्म पनि बद्लिएन। दार्जीलिङ जिल्ला महानन्दाबाट दार्जीलिङ मोड़, पञ्चनदी हुँदै सुकुनासम्म आइपुगे यसको चाहिँ विरोध भएन नै भनौँ। अबको पार्ट ३ मा दुधेसम्म पुग्ला। चौरास्ताको मञ्चमा सँगै बसेका बिमललाई दिदीले गाली गरेर गए विरोध भएन। इन्द्रनीलले बिमल-रोशनलाई खेद्छु भने त्यति धेरै विरोध भएन। “आप्पा” आफ्नै ठाँउबाट लखेटिनु पऱ्यो विरोध भएको-भएको जस्तो मात्र भयो। बङला भाषा थोप्नु खोज्दा चाँहि विरोध भयो तर नेपाली भाषाको संरक्षणकै निम्ति केहि पनि भएन। नेपाली भाषालाई बिमार लाग्नबाट भने बचाउन कोसिस गरियो तर भाषालाई पौष्टिक आहार खुवाएर समृद्ध बनाउने कार्य कसैले गरेनन्। भनौं बाहिरी अतिक्रमणबाट रोकेको जस्तो गरे तापनि आफ्नै घरमा भने खाना नपाएर कुपोषण झेलिरहेछ नेपाली भाषाले।

यसरी माथिबाट हेपिनै रहन्छ सकेकोमा विरोध गऱ्यो नभए पचाएर बस्नु बाहेक अरू विकल्प नै छैन। नेपाली भएर बाँच्नु कठीन भइरहेको छ। प्रश्न छ, किन चाहिँ हामीलाई मेनल्याण्ड इण्डियाले त्यसरी हेर्छन वा दु:ख दिइबस्छन् त?

त्यसो त एउटा प्रश्न, के भारतीय गोर्खाले “गोर्खाल्याण्ड” पाउँदैमा हाम्रो “परिचय” को सङ्कट समाप्त हुन्छ त? परिचयको निम्ति आन्दोलन र छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन एउटै हो त? के त्यसो त उत्तरपूर्वी राज्यहरुको आफ्नो-आफ्नो राज्य हुँदा पनि किन परिचयको सङ्कट झेल्नु परिरहेछ ? परिचय-सङ्कटको निकासमा राज्यको भूमिका के हो? दीर्घदिनदेखि परिचयको मार झेलिरहेका भारतीय नेपालीहरुले आफ्नो परिचय स्थापित गर्न राज्य निर्माण बाहेक अरु के-के प्राप्त गर्नु पर्ने हो ? आखिरमा यो भारतीय व्यवस्थामा परिचय दिन्छ केले ? परिचयको युद्ध आखिरमा के हो त?

यी प्रश्नहरु जबसम्म केलाएर निफन्दैनौँ हामी जताततै भौतारिरहने छौ। माथिबाट हानिबस्छ तलबाट थापिबस्यो बेला-बेला बेसी हुँदा झटारो फर्काएको जस्तो पनि गऱ्यो अनि सक्यो बस त्यतिमा नै।
तसर्थ माथिका प्रश्नहरुको उत्तर कसरी पाउने त? के सजिलै पाउन सकिन्छ र? पहिलैबाट कसैले पस्केर राखेको पो छ कि? तर वास्तविकता त्यस्तो छैन, आफैले नै खोज्नु पर्छ। नखोजेकै हुनाले अहिले सम्म दु:ख पाइरहेका छौँ। दार्जीलिङकाहरूले त धेरै शर्टकट खोज्छन्, दार्जीलिङमा सरकारी नियुक्ति पाएको जस्तो सजिलो होइन यो। अति जटिल र अति नै गहन विषय भएकैले यसलाई धेरैले छुँदैनन् टाडाबाट पनि।

परिचयको लडाईँ भनेको मूलधाराको हाराहारीमा हामी पनि उभिन खोज्नु हो। तिनीहरुको हाराहारीमा पुग्नु सजिलो पटक्कै छैन। न त कुनै शर्टकट नै छ। मानव समाजमा विध्यामान कौशलताको हरेक विधामा निपूण भएर अग्रसर रहनु पर्छ। हामीलाई पनि तिमीहरुसँग उभिनु देउ न भनेर तिनीहरुको हाराहारीमा एकदुइजना उभिँदैमा नेपाली समाज मूलधारामा पुगेको हुँदैन। हाम्रो लड़ाईँ भनेको त्यो मूलधारामा तिनीहरुसँग त्यसरी उभिनु हो जहाँ तिनीहरुले लगाएको लाञ्छनालाई वास्ता गर्नु नपरोस्। आफ्नो परिचयको निम्ति प्रमाण दिन नपरोस् ।

 यस परिचय प्राप्त गर्नको निम्ति गोर्खाल्याण्ड राज्य मात्र एउटा बाटो त हो तर राज्य पाएर पनि परिचय सङ्कट समाधान हुन्छ भनेर भनि हाल्न चाहिँ मिल्दैन। तर राज्यबिना परिचयको सङ्कट समाधानको अर्को बाटो पनि त छैन। सिक्किममा नेपाली मुख्यमन्त्री भएर पनि नेपालीको परिचय हुन सकेन। एक दुईजना लोके र मणीकुमार सुब्बा झैँ बेलामा धनवान बनेर पनि परिचय पाइन्न। हामी पैसा भएर पनि गरीब छौँ।
तसर्थ मेनल्याण्ड ईण्डियाले हामीलाई कसरी बुझिरहेका छन्? किन तिनीहरुले त्यसरी बुझिरहका छन्? के-केले वाधा दिएको हो हामीलाई हाम्रो परिचय स्थापित गर्नुमा? अब केही पृष्ठभूमि बुझौँ।
सीधै भन्नु हो भने मूलधाराकाहरुले नेपाली केटा देख्नसाथ गोर्खा/चौकीदार अनि केटी देख्नसाथ वेश्या बुझ्छन्। यो धारणा कसरी यिनीहरुकोमा पस्यो, किन पस्यो ? भन्नेबारे चर्चा गरौँ।

“वेश्या-वृत्ति” संसारकै सबैभन्दा पुरानो व्यवसाय मानिन्छ। यो प्रत्येक समाजमा नै थियो र अहिलेपनि चलिरहेकै छ। त्यसरी नेपाली समाजमा पनि थियो र अझसम्म पनि छ, केही प्रत्यक्ष देखाएर त केही लुकाएर। सही कि गलत भनेर किटान गर्नु विवादित बहस हो वर्तमान समयमा। यस विषयमा अलगै वृहत रूपमा सैद्धान्तिक चर्चा हुन अतिआवश्यक छ।

काठमाण्डौकी सुजता राणाले १९९१-मा आफ्नो शोध-लेख “ The sex workers and the Market”मा नेपालमा भएको वेश्यावृत्तिको जानकारी मज्जाले दिएकी छन्। नेपालमा राणा शासन कालमा पहाडबाट तामाङनी केटीहरु लिएर राज परिवारले कसरी भोग गर्ने गर्थे अनि यसरी बिस्तारै यो पेशा बद्लिएर अन्य स्थानमा पनि कसरी फैलिँदैगयो? नेपालको विपन्नता-दरिद्रताले पनि केटीहरुलाई वेश्या बन्नु कर लागेको थियो त कतिपय भने धार्मिक रितीले पनि उक्साएको विवरण पाउन सक्छौ। यसरी आफ्नो गरिबी कै कारण धेरै विपन्न परिवारका केटीहरु काठमाण्डौका कार्पेट फ्याक्ट्रीमा काम गर्न आउन थाले। त्यहाँबाट कसरी सजिलै सित वेश्यावृत्तिमा डुबाइदिए भनि विवरण पाउँछौ। राणा शासनको अन्त्य भएपछि राजमहलमा ल्याइने केटीहरु बेकामे भए र त्यसपछी बिस्तारै मानव-तस्करी बढेर ती केटीहरुलाई सीमा पार गरेर भारतको विभिन्न शहरहरुमा बेचिन थालिए। भारतमा वेश्याको आपूर्ती यिनीहरुले पूर्ण गरे। भारतदेखि धेरै नेपाली केटीहरु थाईल्याण्ड पनि लगिन थालियो। भारत-नेपालको सीमा खुल्ला भएकोले भारत छिराउन धेरै नै सजिलो छ। १९९१ सालमा नै १ लाख नेपाली केटीहरु भारतका विभिन्न वेश्यालयमा कार्यरत भएको देखाइएको छ। यसरी अन्य शोधकर्ताहरुमा घिमिरे, प्रधान, मोना छेत्रीहरुले पनि समान दृश्य पस्केका छन्।


१९९५ को “Human Right Watch”-को रिपोर्ट “Trafficking of Nepali girls and women in Indian Brothels” मा पनि वर्षेनी १ लाख देखि २ लाख नेपाली केटीहरु भारतमा छरिएर वेश्यावृत्तिमा संलग्न रहेको बताइएको छ। २००२-मा पदमको रिपोर्टले संलग्नहरूको सङ्ख्या २ लाख भन्दा अधिक देखाएको छ। अझ तिनीहरुले भोगेको यातनाका कुराहरु बेग्लै छन्।

यसरी समय बित्दै गयो र टेक्नोलोजी पनि बढ्दै जाँदा वेश्यावृत्तिको आकार पनि बद्लिँदै गयो। शुरुमा वेश्याहरु केवल वेश्यालयमा मात्र भेट्ने गरिन्थ्यो भने अहिले वेश्या पनि धेरै थरिका पाउँन थालेका छौँ। अहिले वेश्यालाई यौनकर्मी भनेर चिनिन्छ। यी यौन-कर्मीहरु एकठाँउमा बसेर ग्राहक कुर्दैनन्। कसै एस्कर्ट बनेर सेवा दिन्छन् त कसै आफ्नै घरमा, वा कुनै होटेलमा, अन्य ठाँउहरुमा, सुविधा अनुसार यिनीहरु उपलब्ध हुन्छन्। पहिले गन्ती गर्नु सजिलो हुन्थ्यो अहिले छरिएको हुनाले मोठ यति हो भनी तोकेर भन्न नसके पनि केही अनुमान भने लगाउन सकिन्छ।

यसरी वर्षेनी सीमा पार गरेर भारतमा संलग्न यौन-कर्मीहरुको डाटा अपडेट भइ नै रहन्छ। १ सालमा ५-६ हजार मानव तस्करी गरेर नेपालबाट भारत छिराउने गर्दछ। त्यसमा विशेषत: १५-१८ वर्षका केटीहरु अधिक रहने गर्दछन्। ती मध्ये केही केटाहरु अनि वयस्क आइमाईहरु पनि हुने गर्दछन्। ती सबैलाई सीधा वेश्यालयमा नबेचेर कसैलाई घरको काम गर्न पनि बेच्छन् र नेपाल छोडेर भारत कै दार्जीलिङ अनि अन्य नेपाली बाहुल इलाकाबाट पनि धेरै नै तस्करी हुने गरेको पाईन्छ। विभिन्न गैर सरकारी संस्थाहरुबाट यसको जानकारी पाउन सकिन्छ।

२०११ मा प्रकाशित बिनु सुन्दासको किताब “HIV & AIDS in Darjeeling: Emerging socio political challenge”-मा दार्जीलिङमा पनि अकेन्द्रित वेश्यावृत्ति चल्दैआएको देखाइएको छ तर दार्जीलिङमा हुने वेश्यावृत्तिको आकृति स्वरुप अर्कै प्रकारको छ। यहाँ घुम्न आउने पर्यटकहरुलाई होटेलमा सेवा दिन्छन् कतिले भने कतिले अन्य कुनै ठाँउमा गएर। ग्राहक बाहिरको पनि हुनसक्छ वा स्थानीय पनि। दार्जीलिङमा भएका यौनकर्मीहरुलाई “Mobile Sex Worker” भनिन्छ। जसको हाल सङ्ख्या 2 हजार भन्दा अधिक मान्न सकिए तापनि ठोस प्रामाणिक तथ्य दिन अलि गाह्रो हुन्छ। कारण यिनीहरु पेशागत नभएर मन लागेको बेलामा गर्ने वा एक ठाँउदेखि अर्को ठाँउ सरिरहने हुनाले गन्तीमा घटबड भइनै रहन्छ।

Cambridge University बाट M.A. Mphil गरेकी शोधार्थी अल्का गुरुङको शोधलेख “Nepali Prostitutes in India and Nepal” ले निकै नै जानकारी प्रदान गरेर धेरै विषयमा आँखा उघारिदिने काम गरेको छ।
२००५ मा “Indian Statistical Institute, Kolkata”, बाट शोधार्थी प्रनाती दत्तले राम्रो आँकडा प्रस्तुत गरेको भए तापनि दार्जीलिङमा भएका धेरै यौनकर्मीहरु नेपालबाट आएका हुन् भन्ने देखाएको छ।

२६ अप्रिल २००८ मा “शक्ति वाहिनी” को रिपोर्टमा दार्जीलिङबाट तस्करी भएर वेश्यावृत्तिमा कसरी लगाइन्छ भन्नेबारे विस्तृत जानकारी दिइएको थियो।
२०१४-मा वर्धमान विश्वविद्यालयका शोधार्थी कृष्णेन्दु रायले आफ्नो Ph.D. को थेसिसमा पनि भारतभरि भइरहेको वेश्यावृत्तिमा नेपाली केटीहरुको तस्करी भएर कसरी भारतको बजारमा बिक्री गरिन्छ भनि राम्रो विवरण दिएको पाइन्छ।

२७ अगस्त २०१४ को दिन “Kalimpongonline.blogspot.com” मा“Growing Sex Trade : Worry” शीर्षकमा कसरी दार्जीलिङ, सिक्किम साथै पूर्वोत्तर राज्यका केटीहरु विशेषत: तस्करीको शिकार बनेर वेश्यावृत्तिमा होमिरहेका छन् साथै अहिलेको होटेल तिर कसरी यौन-व्यवसाय फस्टिरहेको छ भन्ने बारे जानकारी दिइएको छ।
२०१५ -मा "Institute of Social and Economic Change, Banglore "–का शोधार्थीले अहिले नेपाली यौनकर्मीहरुले भारतको महानगरमा कसरी वेश्यावृत्ति गरिरहेका छन् भनेर दर्शाएका छन्। “saloon in day, prostitute in night” –को ट्याग लाग्नुको कारणहरु माथि छलफल गरिएको छ।

२४ सितम्बर २०१८ Darjeeling Chronicle मा “Hills Scholar Exposes Indo-Nepal Human Trafficking” शीर्षकमा सी०एम० पलले डा० रोमना लेप्चाद्वारा लिखित पुस्तक “Cross Border Human Trafficking” को विवरण दिँदै कसरी नेपाली वेश्यावृत्तिले भारत-नेपाल खुल्ला सीमाबाट यत्रो ढाढस पाइरहेको छ सो उल्लेख गरेका छन्।
३१ मार्च २०१८ को “Times of India” मा “Nepal girls trafficked into India up by 500% in last five years: SSB report” शीर्षकमा एकदमै सुक्ष्म स्तरमा शोध गरिएको रिपोर्ट छ। जसमा तस्करी ५००% बढेको देखाइएको छ भने सोँच्नुहोस् वेश्यावृत्ति कति बढ्यो होला झन्।
यसरी भारतीय समाजको अगाड़ि यस्ता छवीहरु लछेप्रै पाइन्छन्। हाम्रो जाति माथि कुनै पनि विषयमा अन्य जातिले शोध गरेर जातिको छवि धमिल्याइ दिने काम पनि निकै भएको छ। हामी धेरै नै पछाडिएका छौ। यस यथार्थलाई हामी नै मान्न तयार छैनौँ। आफूलाई लागेको दाग आफैले मेटाउन प्रति ध्यान दिँदैनौँ। अरु कसैले मेटाइदिन्छ कि भनेर बस्छौ। यसरी शताब्दी नै बितिसक्यो तर छुटकारा पाउँदैनौँ।

अब कुरा गरौँ के वेश्यावृत्तिमा लाग्ने नेपाली मात्र हुन् त? होइन त्यस्तो कदापी होइन। भारतमा नेपाली भन्दा बेसी अरु जातिकाहरु पनि यसमा संलग्न पाइन्छ तर मार्केटमा नेपालीको बेसी डिमान्ड छ। यस मार्केटमा “सेतो-छाला”को अत्यधिक माग छ र नेपालीहरुको प्राय: छाला-सेतो हुन्छ। त्यसरी उत्तर-पूर्वी राज्यकाहरु पनि सेतो छाला हुनाले छिटो अनि सजिलो सित यसमा संलग्न हुन्छन्। मुलत: नेपालीहरु मूलधाराका अन्य केटीहरु भन्दा भिन्न हुनाले पनि यिनीहरुलाई अलग्गै छुट्ट्याएर हेर्ने गरिन्छ, चिनिहालिन्छ।

यौन-क्रीडा सबै समाजमा विध्यामान छन् तथापी हाक्की देखाएर भने गर्दैनन्। यसको पछाडि धेरै मनोविश्लेषणात्मक कारणहरू छन् । थिचिएको-मिचिएको मनोदशा कस्तो हुन्छ त्यसको आधारमा नेपाली जातिको सामाजिक तथा यौनाचार विश्लेषण गर्न धेरै हदसम्म सहयोग हुन्छ। धेरै वञ्चित रहेकै कारण हामी भएको भन्दा जेपनि बेसी देखाउन खोज्छौ। यही मान्यता अहिले भोगिरहेको समस्याको जड बन्न पुगेको पनि हो।
७ फरवरी २०१९ मा विष्णु सापकोटाले “The Trafficking of Nepal’s Girls into India: A Narrative Study” शोधलेखमा विभिन्न सिद्धान्त देखि जड देखि निकास सम्म पुग्ने बाटो पहिल्याउन खोजेका छन्।

सन्दर्भ भारतीय गोर्खा/नेपाली समाज :-

हामीले यस विषयलाई गहनतापूर्वक हेर्ने हो भने, विशेषत: केटीहरु किन अनि कसरी वेश्यावृत्तिमा होमिन वाध्य छन् त्यस माथि छोटो चर्चा गरौं। नेपालको सन्दर्भमा आर्थिक गरिबी, १० वर्षे जनयुद्ध, राजनैतिक उथुल-पुथुल वा अस्थीरता कै कारण जिवीका उपार्जनको निम्ति पनि प्रोत्साहन पाए भने भारतमा सेतो-छालाको उग्र मागले ठेल्ने-तान्ने (Push & Pull)को काम गऱ्यो। सीमा तरेर यस्तो काम गर्नमा आफ्नो संस्कृति-परम्परा देखि मुक्त पनि थिए। लाज मान्ने माहौल देखि कोसौं टाडा थिए आफ्नो स्वाभिमानको बजार।
२००१ को कुरा हो म सानै छदाँ हाम्रो गाँउबाट पनि धेरै दिदीहरु बाहिर काम गर्न जाने भए, ती दिदीहरुलाई हिड्ने बेलामा एकजना दाजुले व्याङ्ग गर्दै यसो भनेका थिए, “बाहिर त जानु, तर फर्केर आउँदा भारी चाँहि पछाडिमात्र बोकेर आउनु नि अगाडि चाँहि होइन नि” भन्दै भुडी देखाउँदा ती दिदीहरु बिच्किएका पनि थिए। त्यतिबेला बुझिएन तर पछि थाहा भयो त्यतिखेर मेडिकल फेसिलिटी त्यस्तो विकसित नभएको हुँदा, भुड़ी बोकेको निकै खबरहरु सुन्न पाइन्थ्यो। र भारीको अर्थ पनि।

नेपाली समाज पैसाको तुजुकमा हेर्नु हो भने त्यस्तो धनी समाज होईन। छोरा-छोरीको पढाई आधाकल्चो राखेर कमाउन जा भन्न पर्ने वाध्यता भएकै हो। शुरु-शुरुमा न्यून आर्थिक स्थिति कारण बने तापनि समयको साथमा धेरै नै रुपहरु परिवर्तन भइसकेको पाउँछौ। धनीहरु धरी आफ्नो लाइफ-स्टाइल मेन्टेन गर्नुको लागि पनि यस पेशामा लागेका देख्छौ।

८६ को आन्दोलन पछि गन्तीमा मान्छेहरु धनी भए र उब्रेकाहरु झनै गरिबीमा डुबे। २००७ र १७ पछि पनि मानिसहरुले धेरै आर्थिक मार खप्नु पऱ्यो। तर जब-जब पनि आन्दोलन भए गिनी-चुनिन्दा मान्छेहरु मात्र धनी भए। अब नेपाली समाजभित्र पनि धनी र गरीब मज्जाले छुट्टिन थाल्यो। हिजको सुँगुर चराउने आज गाडीको मालिक हुँदा छेउको हर्के चियाको गाँछ नै स्याह्यार्दै छन्। यसरी छिटो धनी हुने प्रवृत्ति दार्जीलिङमा भित्रियो। गरिबी मनमा पनि धैरै आकाङ्क्षाहरु फुल्नु थाल्यो र “easy-money”को संस्कारले वेश्यावृत्ति मात्र बढेन, अपितु गोर्खा समाज नै बलात्कृत हुन पुग्यो। ८६-को आन्दोलनमा भएको यौन-शोषणको विश्लेषण हुनु बाँकि नै छ। २००७ मा राजनैतिक उथुल-पुथुल हुँदा हाक्की “श्रीमती-बदल्ने” (Wife-swap) संस्कार भित्रियो। गोर्खा केटीहरुलाई उपभोगको वस्तुमात्र त हाम्रै स्थानीय तहमा पनि बनाइयो। गोर्खा-चेलीको सम्मानमा चोट हाम्रैले पुऱ्याएर नै अरुको अगाडि नाङ्गिदा पनि लाज मान्न नै छाड़े। हाम्रैमा यस्ता धेरैवटा संस्कारहरु छन् जसले आर्थिक कारण नभए तापनि वेश्यावृत्तिमा लाग्न कर लगाइरहेका छन्। वेश्यावृत्तिमा लाग्नु अहिले जीविका उपार्जन मात्र नभएर आफ्नो ग्लामरस जीवनशैली मेन्टेन गर्नुको लागि पनि पैसा कमाउने सजिलो माध्यम बनेको छ। अहिले यौनकर्मी सिलीगड़ीको खालपाडा, कोलकताको सोनागाछीमा मात्र होइन, सबैतिर फैलिएको छ। बाटोमा हिँड्दा ठोक्किने पनि हुनु सक्छ। सबै अनलाईन बुकिङ हुन्छन्। भारतको सेलुन-पार्लरहरुमा काम गर्ने केटीहरु यसमा बेसी संलग्न भएको रिपोर्टमा पाउँछौ। सिक्किम, दार्जीलिङबाट सिलगडीमा बसेर सुचारु रुपमा चलिरहेको यौन व्यवसायमा कार्यरत यौनकर्मीको सुची लामै नै हुन्छ। आश्चर्यको कुरा अहिले यस पेशामा विद्यार्थी पनि धेरै मात्रमा संलग्न छन्। यो पेशा यति जटील छ कि कसै एकले यसलाई रोक्न भने सक्दैन तर यसमा होमिनदेखि भने जोगाउँन सकिन्छ। सेक्स ट्रेडले विश्वको आर्थिक गतिविधिसम्मलाई हल्लाउने क्षमता राख्दछ।

सिक्किममा होस् वा दार्जीलिङमा युवाहरु बेकारी बनिरहेकाछन्। समृद्ध परिवारकाहरु घर धान्नु नसक्नु कै कारण पनि समयमा विवाह गर्दैनन् र अवैध यौन-क्रीडामा अग्रसर पनि रहन्छन्। “Live-in-Realtionship”को ट्रेन्ड चलिरहेको छ। विवाहपूर्व यौन-सम्बन्ध सामान्य भएकोले पनि वैवाहिक जीवन खकुलो भइरहेको छ। “Free-Sex” को नारा लगाएर कति त नारीवादी पनि बनिराखेका छन्। यसरी व्यभिचार समाजमा लछेप्रै छ। के हाम्रो सामाजमा मात्र यस्तो हो? भनेर प्रश्न उठ्न सक्छ। होइन, विकसित समाजमा पनि यस्तो अझ यो भन्दा बढी भइरहेकै छ। तथापि ती समाजहरुमा यी विकृतिहरु बाहेक धेरै-धेरै राम्रा कुराहरु पनि घटेका छन् जसले यी कुराहरुलाई ढाकछोप गरिदिन्छन् जुन हाम्रो समाजमा नहुँदा छर्लङ्ग देखिन्छ। त्यसैले जब हाम्रो समाजपनि मूलधारा सित जोडिन पुग्छ तब हाम्रो यस्ता विकृतिहरु आफै ढाकछोप हुनेछन्।


हामीले भारतलाई दिइरहने छवीहरुमा अर्को के हो भने“गोर्खाहरु वीर”हुन्छन् भनेर रट लगाइन्छ। भुपी शेरचनको “हामी” कविता याद आउँछ। गोर्खाहरु वीर छैनन्, विगतमा थिए भन्न सक्छौ। वर्तमानमा गोर्खाले जितेको के पो छ र? गोर्खाले सीमा सुरक्षा गरेको वा विश्व-युद्ध लडेको कुरा त गर्छन् तर आफूले टेकेको जमीन आफ्नो नाममा छैन, दिनको हाजिरा रु २०० पुगेको छैन, सबैमा हारिरहेका नै छौँ र मक्ख परिरहनु पर्ने संस्कारले समाजलाई झनै उपहासको पात्र बनाइरहेछ। हामी हारेर पनि दु:खी बन्दैनौँ। मैले जित्नुपर्छ भनेर संकल्प नै गर्दैनौ। आवेगमा आउँछौ, केही क्षण तात्तिन्छौ र एकछिनमा सेलाइ पनि हाल्छौ। लामो सोँचेर सपना नै बुन्दैनौं।

कुनै पनि पेशामा रहेर जिवीका उपार्जन गर्नु गलत नभए तापनि अहिले होटेल, स्पा-पार्लर, शपिङमल, कल-सेन्टर वा अन्य निजी कम्पनीतिर काम गर्ने धेरै केटीहरु यौनपेशामा संलग्न रहेकाले त्यस पेशामा जानेलाई सोही नजरले हेरिन्छ। एकजना बिराउने शाखा पिराउने भने जस्तै। हुन त पहाडमा रोजगारको राम्रो सम्भावना हुँदा-हुँदै पनि रोजगार सृजना गर्न चाँहदैनन्। तसर्थ पलायन हुन नै पर्छ। अन्य राम्रो विकल्प पनि त छैन।
पहाडमा शिक्षा आधाकल्चो छ। समस्याहरुले ओभरलोड छ पहाड। अहिले हुन त धेरै केटीहरुले बलत्कारको कुरामा लगाउने लुगालाई दोष दिँदा “म जे सुकै, जस्तो सुकै लुगा लाउँछु, तेरो नियत ठीक राख न” भनेर टिप्पणी दिए झैं, हामी गोर्खामा धेरै कमीहरु छ, त्यसलाई कसैले औँल्याइदिँदा, विरोध होइन सच्याउनु तर्फ लाग्नु पर्ने हो। ताकि अर्को पटक फेरि उसले औँल्याउने मौका नपाओस्। तर हाम्रो प्रतिक्रया “म नाङ्गै बस्छु, तिमी आँखा छोप, नभए लाज हुन्छ” भनेर हुँदैन। मानसिकता बद्लिनै पर्छ।

हाम्रो नेतृत्वहरुको दूरदृष्टि नहुनु पनि ठूलो दु:खको कुरा हो। कुनै एक नेतालाई मात्र दोष लगाएर आफू जोगिने खेलले नै जाति डुबाएको छ। रुद्र बरालको भाषामा भन्नु हो भने, “हाम्रा मान्छेहरु छिटै बिक्रि हुन्छन्”।
गल्ती हरेक तप्काबाट भएको हो। २००९-मा भागोपले सिलगढीको अधिवेषणमा प्रो० लामालाई वक्तव्य राख्न दिए। भर्खर भी.सी. बनेका लामा, नेपाली जगतको ध्रूव तारा नै थिए। प्रशान्त-प्रकृतिको हावा पनि चलिरहेको थियो मूलधाराकै मिडियामा। तसर्थ लामाको वक्तव्य के थियो भने “म आज यहाँसम्म पुगेको छु, मलाई परिचयको सङ्कट छैन” भन्दा मलाई अचम्म लागेको थियो। भागोपले पनि अब नेपालीले सेलिब्रेटी निकाल्नु पर्छ मात्र भने तर केही पनि काम भने गरेन। पछि उही लामा सांसदको भोट हारे पछि फेरि अर्को वक्तव्य आयो “ म पनि केही गरिदिउँ भनेको थिए तर जनताले नै नबुझेर साथ दिएन” गरिदिने अरे? यो सुन्दा लामा अनेपाली पो हो कि झै लाग्यो। २०१८ मा यौनशोषणको आक्षेप लाग्दा वा सिक्किम विश्वद्यालयको राशि हीनामीनामा C.B.I. जाँचको माग हुँदा, कति लुतेहरुलाई हामीले धरोहर मान्दै थिएछौ भन्ने आभास भयो। यसरी चौकी पाएर मात्र गरिदिन्छु भन्नेलाई जनताले राम्रै छिमलेको थियो। भागोपको दुई सुकमान मोक्तान र मुनिस तामाङ पनि साङ्गठानिक विवादमा यता-उता भइरहे। सी० के श्रेष्ठ अलग्गिहाले। घिसिङकाल देखि बिमल सम्म आएर बिनयकालमा जेल पर्ने आर० पी० वाइबाले GTA-2 खारेज गर भन्न हिचकिच्याउँदैन। गल्ती .D.G.H.C थाप्नु पनि थियो GTA थाप्नु पनि थियो त GTA-2 पनि। आफू चौकीमा बसुञ्जेल सबै ठीक अरु बस्दा विरोध‌ गर्नु मिल्दैन। स्टडी फोरम पनि खदा मालामा नै मक्ख थिए। छताछुल्ल भए पछि खोइ अध्ययन? एउटा आन्दोलन तुहियो त अर्को बीँउ छर्ने काम तिनीहरुको थियो। यस्तै सम्भावित मान्छेहरुले लत्तै छोडिदिए भनौं तिनीहरु देखावाटी नै थिए भनेर छर्लङग भयौँ।


अहिले ह्वात्तै पैसा कमाउनेहरुले कसरी देखाउँ-देखाउँ हुँदा छोरीलाई बिहेमा दाइँजो दिने चलन भित्रियो। भगवान बुद्धले हिन्दु धर्म वा वैदिक परम्पराकै विरोध गरेर बौद्धमार्ग देखाएका थिए। आज त्यही बौद्ध धर्ममा केही पूजा, मरौ वा कुनै कार्य पर्दा ऋण लाग्ने अवस्था छ, लामाहरुलाई पाल्नु नसक्ने स्थितिमा छन्। यसरी हाम्रै संस्कारहरुको विकृतिमा भने हामी मौन छौ वा अन्देखा गर्छौ। यसरी स्टाटस मेन्टेन गर्ने चक्करमा पनि छिटो पैसा कमाउन वेश्यावृत्तिमा लागेको देख्न सक्छौ। अहिले यौनकर्मी गरीब देखि धनी-धनीहरू पनि छन्। केटी सँग-सँगै केटाहरु पनि संलग्न छन् तर केटाहरूको संख्या कम छ।

छक्का-पञ्जामा श्रीमान विदेशिँदा घरकी श्रीमतीहरु अरुसँग कसरी लहसिन्छिन् त्यो हसाँउने तरिकाले देखाएकोले सबैले मज्जा नै माने। त्यही लहसिने प्रवृतिलाई नै “ह्वोर”वा “हो” भन्ने चलन छ। यहीँ प्रवृति लगभग सबै समाजमा रहे तापनि नेपाली समाज चाँहि इङ्गित हुने गर्दछ। धेरै कुराहरुमा हामी सचेत छैनौँ। नजानेर पनि जानेको ढोङ गरिबस्छौ। पीके फिल्ममा आमीर खानले हात पक्रेको केटी यदी नेपाली देखाइएको भए? हाम्रै अरुण थापाको प्रचलित गीत “ऋतुहरुमा तिमी” मा “ पवित्र छन् तिम्रा लाजका गहना तर चहानाले भरिएका छन् ओठहरु।“-मा अश्लीलता नदेखिएको हो कि? समाजले अप्नाएकै हो?

यसरी हामी धेरै कुराहरुमा उपहासको पात्र बनिरहनु पर्छ। कतिसम्म विरोध गरिरहनु? घाउको उपचार गरिरहनु कि घाउ नै हुनु नदिनु? एउटा-एउटा घाउ नै स्याहार गरी बस्यौ भने घाउ निस्कि नै बस्छ। जाती हुने कहिले?
 जबसम्म हामी मूलधाराको हाराहारीमा उभिँदैनौ तब सम्म निकास पाउँदैनौ। तिनीहरुको हाराहारीमा पुग्नु हो भने हामीबाट पनि त्यसमा प्रतिनिधित्व हुनु पर्नेछ। प्रतिनिधित्व यसप्रकारले हुनुपऱ्यो कि मूलधाराको राज्यसत्तामा पनि भागिदारी बराबर होस्। हाम्रो सम्पदाको प्रभुत्व हामी नै हुनुपऱ्यो। हामीले हाम्रो मानव संसाधनको विकास गर्नु पऱ्यो। हाम्रो इतिहास, भूगोल, आफैले कोरेको हुनुपऱ्यो। अर्थनिति आफ्नै अधीनमा हुनु पऱ्यो। राजनीति आफैले चालेको हुनु पऱ्यो। प्राकृतिक सम्पदा देखि ज्ञानको भण्डार सम्म सबैमा स्वामीत्व हाम्रो नै हुनु पऱ्यो। अर्काको युद्ध धेरै लड्यौँ अब गोर्खा स्वाभिमानको युद्ध लड़्नु पर्छ। अहिलेसम्मको युद्धबाट के सिक्यौँ भने हामी कसरी असफल भयौ? अब जीतको निम्ति नयाँ पाईला चाल्नु पर्ने छ।

हाम्रो जातिको इतिहास हामीले लेख्न थाल्नु पर्छ। जातिको उन्नतिको बाटो पहिल्याउनु छ। यो युद्ध गोला बारुदको युद्ध होइन, फगत संसारमा विकसित ज्ञानलाई गोर्खा जातिले कति बुझेको छ र ती ज्ञानको सहायताले गोर्खा जातिले जीवन कति सुखद तुल्याउन सक्छन् भन्ने हो। एउटा हार देखि जीतको इतिहास बन्नेछ।
भारतीय सन्दर्भमा यस्ता कदम भए पनि नेपाल सिङ्गो देशले पनि स्वाभिमानको युद्ध लड्नु नै पर्नेछ। विश्वमा बहादुरीका लागि चिन्हिएका जाति विद्वतामा पनि चिनिनु पर्ने छ।
 कमल भूजेल
शोधार्थी
भौतिक विज्ञान विभाग
मिजोरम विश्वविद्यालय
(विषय गहन छ, यसलाई निरन्तर रुपमा अघि बडाएर चर्चा गर्ने नै छु, कुनै विषयमा जिज्ञासा-सुझाव भए kamalaawaz@gmail.com अथवा मोवाइल नम्बर ९५६३४५१९४० मा सम्पर्क गर्नुहोला।)
loading...

भर्खरै “पातल लोक” नामक वेब सिरिजमा “नेपाली व्होर” गाली चलाएकोमा नेपाली समाज साथै भारतको अन्य उत्तर-पूर्वी जनमानसमा पनि धेरै नै हीनताको भाव उब्जेको छ। धेरै समूहहरू आक्रोशित पनि बनेका छन्।

Read latest post filed under assam and northeast, blog article, TV movie

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.