स्व. विकास गोतामेका कविताहरूको पोट्रेट (भाग – २)

Bikash Gotamey And his Poem 2 by Nima Nichi Sherpa
ग्राउन्ड जिरोबाट कविता कोर्ने कवि  
कवि गोतामे पत्यारिला कविता कोर्छन्। आफैले भोगेका यथार्थलाई कवितामा अघि सार्छन्। पर-अनूभूतिहरू साझा गर्छन तर असाझीकृत वा कल्पनामा आधारित पर-अनुभूतिहरूमा उनको आस्था छैन। उनको कवितालेखनमा अतियथार्थ, अतिकल्पना, अलौकिकता र आश्चर्य लगभग वर्जित अवस्थामा छन्। संक्षेपमा भन्ने हो भने गोतामे ग्राउन्ड जिरोबाट कविता कोर्छन्।
आफैले भोगेको यथार्थको स्टील फोटोग्राफी गरेर काम फत्ते भएको ठान्ने कवि थिएनन् गोतामे। यथार्थको अङ्कन–प्रत्याङ्कन त उनका कवितालेखनको प्रक्रियागत एउटा चरण विशेष मात्र हुन्थ्यो। खास काम चाहिँ त्यसपछि सुरू हुन्थ्यो। न्याय र अन्यायको युद्धमा तटस्थ बस्नु अन्यायकै पक्ष लिनु बराबर हो भन्ने कथनमा आस्था रहेको हुँदा उनी कवितामा निमुखा, दमित, उत्पीडित, शोषित मानिस वा वर्गको स्पोक्सपर्सन भएर कवितासङ्ग्राम गर्दछन्।
विकास गोतामेले मार्क्सवाद पढेर वर्ग चिनेका होइनन्। न ता प्रगतिवाद पढेर उनका कविताहरूमा वर्ग चेतनाको पल्लवन भएको हो। गोतामेको निम्तिआफ्नै जिन्दगीको प्रागभूमि, आफू जन्मीं–हुर्की लडी–बडी गरेका गाउँ–घरको सेरोफेरो तथा गाउँ–घरको द्वन्द्वात्मक-वर्गीय चरित्रले कलकलाउँदो उमेरमै वर्ग सङ्घर्षको कखरा पढाएका हुन्। शिक्षा र स्वअध्ययनले त्यो आलोकाँचो चेतनालाई व्यस्क पार्ने काम गरेको हो। अझ मार्क्सवादसितको साक्षात्कार र सामीप्यले त्यो चेतनालाई झरिलो पार्ने काम गरेको हो। मार्क्सवादी सिद्धान्त आत्मासात नगरीकन पनि उनी मार्क्सवादी थिए, प्रगतिवादी मूल्य–मान्यता आत्मसात नगरीकन पनि उनी प्रगतिवादी कवि थिए। सिद्धान्त वा मूल्य मान्यताले उनको दृष्टिलाई व्यापाक बनायो, परिवर्तनकामी प्रतिबद्धता र जुझारू सङ्घर्षशीलतालाई एउटा व्यवस्थित बाटो देखायो तथा उनको अल्लारे मनोमस्तिष्कमा गाडा रहेको विरोध र विद्रोहको मुस्लोलाई क्रान्तिको डडेलोमा रूपान्तरण गर्ने काम गर्यो–  यति चाहिँ पक्का हो।
विकास गोतामे क्षेत्रीयतावादीथिए। जातीयतावादी थिए। तर उनमा कट्टरता थिएन। अन्य क्षेत्र, समुदाय र जातिप्रति पनि उनको प्रगाढ माया थियो। उनीहरूको सकस र सङ्कटमा चिन्ता थियो। उनीहरूको लडाइमा निशर्त समर्थन थियो। उनको नजरमा क्षेत्रीयतावाद वा जातीयतावाद भनेको दोस्रो–तेस्रो क्षेत्र वा जातिसित सोझै भिडनु भन्ने थिएन। कट्टरता कतै थियो भने मार्क्सवादप्रतिको आस्था, निष्ठा, समर्पण र प्रतिबद्धतामा। मार्क्सवादकै बाटो भएर विश्वका उत्पीडित–दमित मानिसहरूको पक्षमा साँचो युद्ध लडन सकिन्छ तथा विजय प्राप्त गर्न सकिन्छ भन्ने कुरामा उनको अटल विश्वास थियो।
  मान्छेलाई पैसाले किन पुग्दैन?  
गोतामेले २७ वर्षको अल्लारे उमेरमा लेखेका मान्छेलाई पैसाले किन पुग्दैन? कविता सरसर्ती पढदा मात्र पनि उनमा वर्ग चेतना कतिको टडकारो थियो भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ। सिङ्गै कविता हेरौं -
बिहान राम्रो उज्यालो हुनै नपाई
कमानको घन्टीले क्वाँ...गरेर डाकेपछि
घुम र टोकरी लिएर गएका बाबु र आमा
अहिले ठूलो साँझ परिसक्दा पनि फर्केका छैनन्।
बहिनी भोकले रुँदारुँदै त्यत्तिकै निदाई
चियाका गाछतिर साँपहरू निस्कन्छन्
साह्रै डर लाग्छआमालाई साँपले पो डस्यो कि?
अथवा साहेबसित अधिकार मांग्नुजाँदा
बाबुलाई पुलिसले पो पक्रेर लग्यो कि?
छि: आमा त बरू कमान नजानु नी
र बहिनी हेर्दै घरै बस्नु नी, साँप पनि भेट्ने थिएन
म बरू धने र मने दाज्युहरूसित स्कूल जान्थें।
छि: बाबुले पनि अधिकार नमांग्नु नी
बरू पैसा मात्र मांगे त पुलिसले लाने नै थिएन।
पैसाले हामी सप्पैको लागि राम्रो राम्रो लुगा किन्नु
सँधै अघाउञ्जेल खानलाई बरू चामलहरू किन्नु
साहेबको जस्तै बजारजाँदा चड्नलाई भट्भटे किन्नु
मलाई खाता-किताब-पेन्सिल र बहिनीलाई फट्फटे किन्नु
बजारको बडा र बडी कति राम्रो भएर हिन्छन्
त्यस्तै आमा र बाबु राम्रो भएर हिन्नु।
तर बाबु भन्नुहुन्छ सँधैपैसाले पुगेन।
साहेबको घरमा कसैले पनि काम गर्दैन
र पनि उसका चार-पाँच छोरा-छोरी पाल्नु पैसाले पुग्छ
तर हाम्रो बाबु र आमा दुवैजनाले काम गर्दा पनि पैसाले पुग्दैन।
कि त हाम्रो बाबु ढँटुवा हुनुपर्छ
कि त हाम्रो बाबु लठुवा हुनुपर्छ
कि चाहिँ साहेबले पैसा नै नदिँदो हो
कि चाहिँ हाम्रो बाबुले पैसा नै नचिन्दो हो
आमा ज्वरोले सिकिस्त हुँदा पनि दवाई किन्न पैसाले पुग्दैन।
बाबु भोकै भएर भारी बोक्दा पनि पैसाले पुग्दैन
बिस्कुट र मिठाई त मांगेका छैनौ हामीले
अघाउञ्जेल भात खान पनि पैसाले पुग्दैन।
मलाईस्कुलपढाउन र बहिनीलाई जामा किन्नपैसालेपुग्दैन
म ठुलोमात्रै हुँ न, म सबलाई सोध्छुपैसाले किन पुग्दैन?
म साहेबलाई सोध्छुहामीलाई पुग्ने पैसा किन दिँदैनौ?
म साहेबको छोराछोरीहरूलाई सोध्छुउनीहरू हामीसित किन खेल्दैनन्?
पुलिसलाई सोध्छुअधिकार मांग्नु किन हुँदैन?
बजारका बडाबडीलाई सोध्छुहाम्रा आमा बाबुलाई सुकिलो बन्न पैसाले किन पुग्दैन?
मास्टर बाज्येलाई सोध्छुसुख पाउने विद्या किन पढाउँदैनौ?
म ठूलो मात्रै हूँ न सबलाई सोध्छु
काम नगर्नेहरूलाई पैसाले पुग्दा

काम गर्नेहरूलाई चाहिँ किन पैसाले पुग्दैन?
यो कविता संसारकै वर्गीय र द्वन्द्वात्मक चरित्रको कलात्मक पोट्रेट हो। ठूलोमाछाले सानो माछा निल्ने हेपुवा मानसिकता वा मनोवृत्तिप्रतिको कवितात्मक विद्रोह हो।
  गोतामेको भाषा सङ्ग्राम  
नेपाली भाषाको सम्वैधानिक मान्यता भारतीय नेपालीहरूको एक महत्त्वपूर्व उपलब्धि हो। सुनौलो इतिहास हो। यो अभिप्राप्ति आकस्मिक नभएर लामो र अनवरत सङ्घर्षको परिणाम थियो। तत्कालीन सांसदद्वय दिलकुमारी भण्डारी र आरबी राले भाषा आन्दोलनको सफलतापूर्वक पटाक्षेप हरफ लेखे संसदमा। यस सफलताको पछाडि विभिन्न व्यक्ति र सङ्घ–संस्थाहरूको तिहासिक योगदानको साँचो मूल्याङकन हुन अझ पनि बाँकी नै छ। गोतामे पनि एक साँचो भाषाप्रेमी र भाषासङ्ग्रामी थिए। मार्क्सवादी कम्युनिस्ट पार्टीका एक कार्यकार्ता र अग्रिम पङ्तिका नेतृत्वको हैसियतमा जनसभाको आयोजन, सम्भाषण, सडकदेखि संसदसम्म प्रभावी रणनीति निर्धारण तथा भाषा आन्दोलनको प्रचार-प्रसार र जनचेतना छर्ने काममा उनको महत्वपूर्ण योगदान थियो।    
भाषा मान्यता आन्दोलनकै सन्दर्भमा उनले रचेका दुईवटा कविताको हल्काफुल्का चर्चा गर्नु यहाँ प्रासाङ्गिक हुन्छ। नेपालीभाषाको सम्वैधानिक मान्यता र आन्दोलनप्रति तत्कालीन भारत सरकारको उदासीन नीतिले आम मानिसमा असन्तुष्टिका लहर छाउनु स्वाभाविक कुरा थियो। आम जनताका कवि भएकाले गोतामेले ती असन्तुष्टिहरूको कवितात्मक प्रतिनिधित्व गर्दै यसरी प्रतिवाद जनाएका छन्–
फर्काईदेऊ आज सीमामा चुँडिएका मेरा दाज्युका हातहरू।
फर्काइदेऊ आज काँप्दै बिताएका हिमालका कठोर रातहरू।
जोतिने छैन तिम्रा जमीनमा गोरू भएर मेरा जातिहरू।
थुप्रिने छैनन् सीमामा लाश भएर मेरा भावी छोरा-नातिहरू।
चाहिएन अब प्रेम-स्नेहका सद्दै झुटा तिम्रा बोलीहरू।
थाप्दिनँ अब तिमीअघि विश्वासका भोका झोलीहरू।
श्राप लाग्छ तिमीलाई सिउँदो पुछिएका ती अभागा चेलीहरूको।
पाप लाग्छ तिमीलाई बाबा खोजी रोएका ती टुहुरा बोलीहरूको।
                                        (साथी!बामीदुई साथी!)   
भारत सरकारको उदासीन नीतिले मोरारजी देसाईको छोटो कार्यकालमा आइपुग्दा पराकाष्टा छोयो। सन् १९७८ मा तत्कालीन प्रधानमन्त्री मोरारजी देसाईले दिल्लीमा आखिल भारतीय नेपाली भाषा समिति का प्रतिनिधिहरूलाई अशिष्ट व्यवहार मात्र गरेनन् तर हाकाहाकी नेपाली भाषालाई विदेशी भाषा समेत भने। त्यसको कठोर प्रतिवादमा गोतामेले लेखे–
रगत त सबैको रातो हुन्छ अब रातो क्रान्ति गर्नुपर्छ
बुद्धका सन्तान हौ तर शान्ति भनेर पुगेन अब साँचो क्रान्ति गर्नुपर्छ
यो देशमा जातिको शान बचाउन कि त मार्नुपर्छ कि त मर्नपर्छ
धेरै लड्यौं साथी, अरूकै निम्ति अब आफ्नै निम्ति लडनुपर्छ
नेपालीको घर घरबाट मुटुको सन्देश आइसक्यो अब क्रान्ति गर्नुपर्छ
कि त रगत दिनुपर्छ कि त रगत लिनुपर्छ
युद्ध घोषणा भइसक्यो!
अब क्रान्ति गर्नुपर्छ।
                  (सशस्त्र क्रान्तिकोउद्घोषणा)
बिकास गोतामेको भाषा प्रेम रूमानी थिएन। अतिभावुकता र आवेशताको प्रतिबिम्ब थिएन। भाषाको संरक्षण, सम्बर्द्धन र विकास तथा यसका महत्त्व र औचित्यका हरएक पाटासँग उनी राम्ररी परिचित थिए। उनले कविताइतर नेपाली जातिको ऐतिहासिक परिचय र भाषाको मानकीकरण सम्बन्धी लेखेका अनुसन्धनात्मक लेखहरूले यस कुराको स्वत: पुष्टि गर्दछ। वास्तवमा नेपाली भाषाले सम्वैधानिक मान्यता पाएपछि भारतीय नेपालीहरूले लामो समयदेखि बेहोर्दै आइरहेका परिचय सङ्कटको सवाल स्वत: समाधान हुनेछ भन्ने उनको विचार थियो। 
क्रमश : .....
http://www.gafsaff.com
loading...

कवि गोतामे पत्यारिला कविता कोर्छन्। आफैले भोगेका यथार्थलाई कवितामा अघि सार्छन्। पर-अनूभूतिहरू साझा गर्छन तर असाझीकृत वा कल्पनामा आधारित पर-अनुभूतिहरूमा उनको आस्था छैन। उनको कवितालेखनमा अतियथार्थ, अतिकल्पना, अलौकिकता र आश्चर्य लगभग वर्जित अवस्थामा छन्। संक्षेपमा

Read latest post filed under blog article

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.