विकास गोतामेका कविताहरूको पोट्रेट (भाग – १)

Bikash Gotamey poem
कविताको काम

कविता के हो ? कविताको काम के हो ?
कवि विकास गोतामेसित सको उत्तर थियो। उत्तर सही थियो वा गलत, त्यो बेगल विषय हो। कमसेकम, गोतामेसँग कवितायात्राको मिर्मिरे कालमा नै कविताबारे स्पष्ट अडान थियो। अभीष्ट थियो। त्यो अडान वा अभीष्टमा कहिले उलटपुलुट र उथलपुथुल देखा परेन। न ता कुनै विचलन नै देखापर्‍यो। मुटु र मिर्गौलाको प्राणघातक रोगले पनि हल्लाउन सकेन उनको कविताधारणाको जरालाई। अस्पतालको बेडमा मृत्युसित लडिरहेका समयमा पनि उनी मान्छेलाई कविताको ऐनामा आफ्नो अनुहार देखाउने काम गरिरहेका थिए। उत्तराधुनिकतावादीहरू मानिसको धारणा परिवर्तनशील छ भन्छन तर गोतामेको कविता धारणा त शुरूदेखि अन्त्यसम्म रुखको रुख नै
बहुधा कविहरूको काव्यिकयात्राको उठान रोमान्सेली रतिरागबाट  भएका पाइन्छ। उमेरनुसार कविहरूको प्रस्थानबिन्दुमा रोमान्टिक क्रेज देखिनु स्वाभाविक पनि हो। सुरूमा प्रायले नै रहरले लेख्छन कविता। गोतामे तर अपवाद उभिन्छन्। अपवाद पनि तडकारो अपवाद। समष्टि प्रतिबद्धताअघि गोतामेको युवासुलभ मनोवृत्ति र भावहरू नेपथ्यमा टाक्सिन पुग्छन्। ती युवासुलभ प्रेम वा रतिभावनाहरू उनका कविताहरूमा कहिलेकाहीँ प्रसङ्ग, सन्दर्भ, पताका, प्रकरी वा सादृश्य अवयव भएर देखापरे तापनि समष्टि नै उनको काव्यिक जीवाईको मुलमन्त्र हो। काव्यिक मात्र होइन, व्यक्तिगत जीवन पनि उनले समष्टिको निम्ति बाँचे।  
कवि गोतामे उम्रदै तीनपाते थिएस्नन् न ता उनको कविताविषयक धारणा तीनपाते थियो। ती धारणाहरू रातारात बनिएका थिएनन् न ता परम्पराप्रदत्त सम्पत्ति नै थियो वास्तवमा अनुभव, अनुभूति, अध्ययन र चिन्तनको संयुक्ति थियो, उनको काव्यिक आस्थाको उत्ताप। त्यस उत्तापलाई पर्गेल्न मङ्पूको लाब्दा सिन्कोनाबगानमा पुग्नपर्छ। त्यहाँका खटिखाने श्रमिकहरूको दैन्दिनी जिन्दगीको भाव, बोली र भाकासित मितेरी गाँस्नुपर्छ। मङ्पू मात्र किन, जार्जीलिङ, डूवर्स र तराका चियाकमानहरूमा पुगेर काम गरेनुसार दाम नपाउने श्रमिकहरूको अन्तर्क्रन्दनलाई आत्मसात गर्दा हुन्छ। अथवा काम गरेनुसार दाम पाउनुपर्छ भन्ने चेतनासम्म नजुरेका सबल्टर्न मानिसहरूको सुस्केरा सुन्दा हुन्छ।
कविता फ्रस्टरेसन, राजनीति र साहित्यिक इमान्दारी
कविता उनको पहिलो प्रेम थियो। टिनेजर प्रेममा झैं गोतामे र कविताबीच पनि बेलाबखत ठाकठुक भइबस्थ्यो। कवितासित मन दुखेर नै सक्रिय राजनीतिमा हिँडेको उनको आत्मस्वीकृति पाइन्छ। कहिलेकाही कविकर्म बेकार र फिजुल पनि लाग्थ्यो उनलाई। कविता बेकार र फिजुल लागेको बेला हप्ता-महिना दिनसम्म कविताबाट टाडिन्थे उनी। यसरी उनी र कविताबीच बेलाबेला मनदुख र मेलमिलापको क्रम चलिरहन्थ्यो। पछि उमेर र अनुभव फुल्दै जाँदा उनले बुझे – राजनीति र कविता बेग्लै बलगेम हो। त्यसपछि उनको कविताप्रेम झनझन प्रगाढ बन्दै गयो। समाजसेवा, शिक्षणपेशा, घर–गृहस्थी र सक्रिय राजनीतिको काप र चापबाट पनि उनी कवितारूपी प्रेयसीको निम्ति समय निकाल्थे।
कवितायात्राको मिर्मिरेकालमा कविताबाट उनको अपेक्षा गतिलै थियो। उनी कविताबाट तत्क्षण परिणाम चाहन्थे। कवितालाई समस्या समाधानको हतियार ठान्थे। पहिलो कवितासङ्ग्रह अनास्था पहाडका गीतहर को कविता शीषक कवितामा उनले लेखेका छन् –
कविता क्रान्ति हुनपर्छ, भोकाहरूलाई भोजन दिलाउनका निम्ति
कविता आगो हुनपर्छ, नाङ्गाहरूलाई तताउनका निम्ति
कविता औषधि हुनपर्छ, शोषणको घाउ जाती पार्नका निम्ति
कविता आँखा हुनपर्छ, अक्षरहरू पढाउनका निम्ति
कविता क्रान्ति हुनपर्छ
कविता सङ्घ हुनपर्छ
कविता प्रतिवाद हुनपर्छ
कविता प्रतिरोध हुनपर्छ।
त्यसै कवितासङ्ग्रहको आफ्नोकुरा-मा उनको इमान्दार आत्मस्वीकृति छ – ... तर कविताले शोषितहरूका निम्ति रोटी र लुगा तत्काल दिन नसक्दा, कविताले मध्यमवर्गीय र निम्न मध्यमवर्गीय हुकुमशाहहरूका भ्रष्टाचार यथाशीध्र निषेध गर्न नसक्दा र निर्बल र निराश्रितहरूलाई कविताले सङ्ग्रामका निम्ति प्रथम हतियार दिन नसक्दा मैले आफूलाई अर्कै बाटोमा हिडाए – फलत कविता लेख्न उचालेको कलमले दावीहरू लेख्न लागे–लागिरहेछु। तर आफूले कहिल्यै साहित्यलाई पिठ्यूँ देखाएको छैन, विनाअध्ययन र बेला बेलाको उकुसमुकुस नलेखी मेरो जीउनु सम्भव छैन।  
कविता विकास गोतामेका निम्ति एउटा हतियार थियो। लडाइको मोर्चा थियो। कविता लेखेर थपक्क बस्ने व्यक्ति थिएनन् उनी। लेखिएका कुराहरू व्यवहारमा शतप्रतिशत उतार्ने कटिबद्ध व्यक्ति थिए उनी। आफ्ना कविताका पहिलो दृष्टान्त: आफै उभिन्थे उनी। विकास गोतामे कवितामा आमाको महिमागान गाएर व्यवहारिक जीवनमा आमालाई वृद्धाश्रममा पठाउने द्वैतचरित्रका कवि थिएनन्। समाजसेवा उनको अर्को हतियार थियो। अझ राजनीति झन धारिलो हतियार थियो। कविता, राजनीति र समाजसेवाको सीमारेखा कण्ठस्थ थियो उनलाई। तिनका शक्ति र सीमा पनि मुखस्थ थियो उनलाई।
विकास गोतामेका कविताभाषा र शिल्प पनि इमान्दार छन्। विचार वा कथ्यलाई खुरूखुरू पछ्याउने किसिमका छन्। लड बीरबहादुर!तिमी लड! को भूमिकामा एम एमगुरूङ लेख्छन्– बिकासमा साहित्यिक इमान्दारी छ। दुनियाभरका किताबहरू थुपारेर उनी कविता लेख्दैनन्, विदेशी निम्न प्रतीक र नबुझ्ने शब्दहरू थुपारेर कविता लेखेनन् तर आफ्नै ठाउँको माटो र हावाको गन्ध बोकी त्यहाँभित्रका आक्रोश, चित्कार र अभावहरू बोकी कविता लेखेका छन् अनि यिनीहरूबाट उन्मुक्ति कसरी पाइनेका उपायहरू पनि देखाएका छन्।
विकास गोतामे आफैको पनि यसै कवितासङ्ग्रहमा आत्मस्वीकृति छ– भन्छन् अरूहरू– जत्ति लेख्दै गयो उत्ति अनुभवले क्लीष्ट बनाउँछ। अभिव्यक्तिमा भाषागत कलात्मक क्लीष्टता आउँदै जान्छन् रे। तर ममा भने त्यो पनि उल्टै भयो। जति लेख्दै जान्छु उत्ति भन्नपर्ने कुराहरू साधारण बोलचालको भाषामा लेखिन आउँछन्।
प्रगतिवादी कविताका मोडल कवि
विकास गोतामे लएउटायस्तो नाम हो, जसको उल्लेख बिना भारतेली प्रगतिवादी साहित्यको चर्चा सम्भव छैन। गोतामेका कविताहरूको चर्चा–परिचर्चाको अभावमा भारतेली साहित्यको कुनै पनि प्रकारको कैरन आँलोकाँचो हुन्छ। वास्तवमा भारतेली नेपाली साहित्यमा प्रगतिवादी धारालाई एउटा सशक्त र प्रभावी कविताधारामा रूपान्तारण गरेर त्यसलाई ओजस्वी अग्रगामिता प्रदान गर्ने गौरव गोतामेसित नै छ। सूर्यविक्रम ज्ञवाली, बीरेन्द्र, अगमसिंह गिरी, बन्द्रीनारायण प्रधान प्रभृति कवि–चिन्तकहरूद्वारा बसालेको भारतेली प्रगतिवादी साहित्यको घडेरीलाई सङ्ख्यात्मक र गुणात्मक दुवैदृष्टिबाट गाराभित्ता थप्ने काम मुख्य रूपमा गोतामेबाट नै भयो। गोतामेपूर्वका दार्जीलिङ्गे नेपाली कविताकोपृष्ठभूनि, परम्परा र प्रवृत्तिको सापेक्षतामा गोतामेले रोजेको कविताको प्रगतिवादी बाटो कम चुनौतिपूर्ण थिएन। रोमान्सेली राग र प्रयोगवादी चापबीच प्रगतिवादी साहित्यलाई हुर्काउनु कम लरतरो कुरा थिएन। हाकाहाकी भन्नुपर्दा आफ्ना समकालीन कविहरूबीच बकुल्लाझैं बेगल थिए उनी। उनीभन्दा अघि पनि प्रगतिवादी सैद्धान्तिक मूल्य–मान्यतालाई आत्मसात गरेर कविता कोर्ने कविहरू प्रशस्तै थिए। तर बहुधा कविहरू प्रगतिवादी–स्वच्छन्दतावादी द्वैतप्रवृत्तिका थिए। विचार र शिल्प बाझाबाझगर्ने रोगले आक्रान्त थिए। उनकै समकालीन कविहरूमा पनि यो रोग व्याप्त थियो। कतिका कवितामा प्रगतिवादी सञ्चेतना प्रखर पाइए तापनि ती कविहरूमा निरन्तरताको अभाव थियो, सक्रियताको अभाव थियो र थियो प्रतिबद्धताको अभाव। गोतामेका प्रगतिवादी कवितालेखनमा विचार र अभिव्यक्ति प्रणालीको एकात्म थियो, संश्लिष्टताथियो र थियो समान दायित्वबोधिता। छोटकरीमा भन्नुपर्दा विकास गोतामे निक्खुर प्रगतिवादी कवि थिए। प्रगतिवादी नेपाली कविता लेखनको मोडल कवि।
बहुमुखिता र तकनिकी कुराहरू
चालीस वर्षको छोटो जिन्दगानीमा विकास गोतामेले मोटामोटी दुई सय सोह्लवटा कविता, सातवटा कवितासङ्ग्रह तथा असङ्ख्य प्रकाशित–अप्रकाशित गीत, अनुवाद, कथा, नाटक, एकाङ्की र समीक्षात्मक लेखहरू नेपाली साहित्यको देवरालीमा चडाए। सङ्ख्यात्मक दृष्टिले मात्र होइन साहित्यिक गुण, स्तर र योगदानका दृष्टिले पनि गोतामेली साहित्य महत्त्वपूर्ण छन्।
एउटा सेतो गुलाब (सन् १९६९, छहारी पत्रिकामा प्रकाशित) कथा लेखेर साहित्यमा पर्दापण भयो उनको। यसरी प्रकाशनका दृष्टिले पहिला कथाकार थिए उनी। पछि कवितामा एकाग्र बने। कवितामा एकाग्र भए पनि कथा लेख्न चाहिँ च्वाट्ट छोडेनन्। साहित्यिक विद्याहरूको वर्गीकरण र तिनको प्रयोजन तथा औचित्यको सचेतन हेक्का थियो उनलाई। विषयवस्तु, आवश्यक्ता र परिवेश अनुरूप बेलाबेला कथाहरू लेखिरहे उनले। उनका एक दर्जनजति अप्रकाशित कथाहरू यसका साक्षी हुन्। नाटकहरू लेखे, तिनलाई मञ्न गराए। धेरै रेडियो रूपकहरू प्रसारित गराए। मय–समयमा चित्त नबुझ्दा प्रतिक्रियास्वरूप समालोचनात्मक लेखहरू पनि प्रशस्तै लेखे। विकास गोतामे आफैमात्र लेखेर मक्ख भइ थपक्क बस्ने व्यक्ति थिएनन्। साहित्यका गम्भीर अध्येता थिए उनी। फेरि उत्तरअध्ययन थपक्क बस्ने व्यक्ति पनि थिएनन उनी। उत्तरअध्ययन आफूलाई प्रभाव पारेका तथा आफ्ना समय र समाजलाई लाभान्वित हुने रचनाहरू उल्था गरेरै छाडथे उनी। यसका साक्षी उनले अनुवाद गरेर पाण्डुलिपिमा सीमित रहेका मोटामोटी एक सयवटा गीत र लेखहरू छन्। हिन्दी भाषामा पनि गतिलै पकड थियो उनको। उनको पकड यति दह्रिलो थियो कि उनी हिन्दीमा धाराप्रवाह कविता सिर्जना गर्नसक्ने क्षमताका थिए। लड! बीरवहादुर तिमी लड! कवितासङ्ग्रहमा अन्तर्भूक्त पूल निर्मातादेखि यी तिम्रा हातहरूसम्मका तेह्रवटा कविताहरू मूलरूपमा हिन्दीमा रचिएको तथा पछि नेपालीमा अनुवाद गरिएको कविस्वयंकोआत्मस्वीकृतिबाट माथिको भनाईस्वत्: सिद्ध हुँदछ।
गोतामेका कविताइत ररचनाहरू विभन्न पत्र-पत्रिकातिर प्रकाशित छन्। कतिवटा पाण्डुलिपीमै सीमित छन्। ती रचनाहरूले विद्या अनुरूप पुस्तकको रूप पाउन सके नेपाली साहित्य अझ लाभन्वित बन्नेछन्। ती रचनाहरू पनि प्रगतिवादी सञ्चेतनाले सिक्त छन्। अब फेरि कविताकै फाँटमा फर्केर कुरा गरौं। पुस्ताकाररूपमा गोतामेका सातवटा कवितासङ्ग्रह प्रकाशित छन्।
 ती हुन् – अनास्था पहाडका गीतहरू, लड! बीरबहादुर तिमी लड!, रगतका रेखाहरू, दार्जीलिङमा बिहान भइरहेछ, प्रतिवाद पञ्चाम़त, केही नवीनतम कविताहरू कृष्णचुडा, लाली गुँरास, तालगाछ र धुप्पीकारुखहरू। तीमध्ये प्रतिवाद पञ्चामृत कवितासंग्रहमा सङ्कलित के हामीले यस्तै होस् भनी चाहेका थियो शान्त र सुन्दर हाम्रो दार्जीलिङ?, गाउँको नाममा एउटा चिट्ठी, आफ्नो कलमसित, मेरी चेली-दिदी! सन्जिला! र पेमा लम्हु। एउटा प्रश्न-चिन्ह भएर उभिएको दार्जीलिङ शीर्षकका कविताहरू पुस्तकाकारमा प्रकाशित तेस्रो कवितासङ्ग्रह रगतका रेखाहरूमा अगावै संकलित वा प्रकाशित भएका कविताहरू रहेका छन्। यसैगरी दार्जीलिङमा बिहान भइरहेछ लाई पनि कवितासङ्ग्रहको नाम दिन नसकिएला। किनभने १५ वटा पृष्ठमा उनिएको यो लामा आयामको एकल कविताको पुस्तिका मात्र हो। यस हिसाबले गोतामेका प्रकाशित कवितासङ्ग्रहको वास्तविक सङ्ख्या पाँच मात्र हुन्छ।
गोर्खाल्यान्ड आन्दोलन अघि/पछि
गोर्खाल्यान्ड आन्दोलनले विकास गोतामेको व्यक्तिगत, पारिवारिक र राजनीतिक जीवनमा उलटपुलुट र उथलपुथुल ल्यायो। दैन्द्नी जीवनका रूटिनहरूमा अस्थिरता र परिवर्तन ल्यायो। कवितालेखन र कविताचिन्तनको फाँटमा चाहिँ परिपक्वता ल्यायो। आन्दोलनकालमा पहाडबाट निर्वासित भएर सिलगढी झरेपछि उनको प्रगतिवादी चेतनाको लेन्स अझ फराकिलो बन्दै गयो। मधेशका विभिन्न गाउँठाउँहरूको स्थलगत भ्रमण, त्यहाँका श्रमजिव मानिसहरूको सङ्घर्षशील जीवाई र उनीहरूसितको प्रत्यक्ष साक्षात्कार तथा शोषणका विभिन्न रूपहरूसितको प्रत्यक्ष जम्काभेटले उनको प्रगतिवादी आस्थालाई अझ अग्रगामिक गति दिने काम गर्यो। अझ विभिन्न भाषाका कवि– लेखक, सांस्कृतिक कर्मी तथा क्रान्तिकारीहरूसितको भेटघाट र वैचारिक आदानप्रदानले उनको कवितालेखन र वैचारिक धरातललाई अझ बलियो पार्ने काम गर्यो।
राजनीतिक घनाक्रम अथवा गोर्खाल्यान्डआन्दोलनको आधारमा विकास गोतामेका कवितायात्रालाई आन्दोलनपूर्वका कविताआन्दोलनपछिका कविताहरू गरेर दुईवटा चरणमा विभाजन गरेर हेर्न सकिन्छ। आन्दोलनपूर्वका कविताहरूलाई अनास्था पहाडका गीतहरू, लड! बीरबहादुर तिमी लड! प्रतिवाद पञ्चामृत का कविताहरूले प्रतिनिधित्व गर्दछ भने आन्दोलनपछिका कविताहरूलाई रगतका रेखाहरू, दार्जीलिङमा बिहान भइरहेछ, केही नवीनतम कविताहरू तथा कृष्णचुडा, लाली गुँरास, तालगाछ र धुप्पीका रुखहरू कवितासङ्ग्रहका कविताहरूले प्रतिनिधित्व गर्दछ। यी दुवटा चरणका कविताहरूबीच वैचारिक र शिल्पशैलीगत कायापलट वा उथलपुथुल नदेखिए तापनि तिनमा अग्रगामिक परिपक्वता भने निश्चय नै पाइन्छ। आन्दोलनपूर्वाका कविताहरूमा क्षेत्रीयता र जातीयता तथा सोही अनुरूप स्थानीक सादृश्य अवयवहरूको बोली र भाका बडि मुखर छ भने आन्दोलनपछिका कविताहरूमा वर्ग सङ्घर्षका वैश्विक आन्दोलन, घटना–दुर्घटना र सन्दर्भ–प्रसङ्गहरूप्रतिको चिन्ता, ऐक्यबद्धता तथा तिनकै व्यापक आलोकबाट स्थानीक समस्या र सङ्घर्षहरूको अभिव्यक्ति मुखर रहेको छ। रगतकारेखाहरू कवितासङ्ग्रहको दुइ– चार शब्दहरू- मा आफ्नो कलमले अझ विस्तृ मैदान ओगटेको कवि स्वयंको आत्मस्वीकृति छ– ...मैले आफ्नो परिचय भएको लम्बा–चौडा ब्यौरा दिएर नाक घोक्र्याउनु खोजेको होइन तर म आफू जन्मेको गाउँबाट खेदिएरै मेरो कलमले अझ विस्तृत मैदान पायो लेख्नलाई। यसर्थ अनुभवले मलाई बतायो कि जन्मेका ठाउँबाट अन्यत्रतिर पाइला नबडाउनु भनेको नै आफूभित्र विच्छिन्नतावाद, सङ्कीर्णतावाद र साम्प्रदायिकतावादको बोट उमार्नुरहेछ। जसले अन्यान्य जाति र उनीहरूका साहित्य एवं संस्कृतिसित अलिकति परिचयसम्म पनिगर्ने चेष्टा गरेको छ उ जातिवादको सङ्कीर्णताभित्र खुम्चिएर रहिबस्न सक्दैन। क्रान्तिकारी रचनाकार विकाशगोतामे पुस्तकको विकाशमा रचनाकार र राजनीतिक व्यक्तित्वको विकासक्रम खण्डअन्तर्गत रत्न बान्तवा लेख्छन– १९८६ को अन्तिम भागतिर उनले फश्चिम बङ्गालका विभिन्न मैदानी अञ्चलहरूमा घुम्ने, बङ्गला र हिन्दी भाषी रचनाकारहरूसँग सांस्कृतिक विचार विनिमय गर्ने, सद्भाव र सद्भावनाका आयोजनाहरूमा रम्ने सुयोग पाए। आफ्ना विचारलाई अझ उदात्त र व्यापक बनाउनउनलाई मदत मिल्यो। उनले आफ्नोयात्रालाई पहाड र मधेशमाझको सद्भावना र रक्षा गर्ने अभियान ठानेका थिए। विश्वकवि रवीन्द्रनाथ यसका पहिलो अभियात्री थिए र आफू अर्को अनुगामी।..........तर विकासजीको विस्तृतिको अर्थ मधेश पुगेपछि मधेशको विराट्तामा पहाडको न्यानोपन बिर्सनु भन्ने पटक्क होइन। दृष्टिले पहाड–मधेश अटाउनु भन्ने हो। संसारभरिकै मानिसको बन्धुत्व गाँस्न चाहने विकासजीको हृदय कन्चनदङ्घाको स्वच्छता, चियाबारी र कुलैनबारी, लालीगुँरासको आफ्नोपनलाई घटाएर हैन बरू तीसँग अरू जोडेर मात्र छ। उनका अन्तिमकालका रचनाहरूमा यो सत्य टडकारो रूपमा उद्घाटित छ।
अझ व्यापक र सूक्ष्म रूपमा गोतामेका कवितायात्रालाई चरणगत विभाजन गर्ने हो भने आन्दोलनपछिका कविताहरूलाई अझ मुटु र मिर्गौलाको प्रणघातक रोगले थिलथिल्याउनुअघि र पछिका कविता गरेर दुई भागमा विभक्त गर्न सकिन्छ। रोगले आक्रन्तभएपछिका कविताहरूमा मृत्युबोधको टडकारो उपस्थिति छ। अर्को शब्दमा भन्नु हो भने यस चरणका कविताहरूमा मृत्युबोधको छाँयामुन्तिर बसेर उनले वर्गीय अभिव्यक्तिहरू दिएका छन्। यसैगरी शिल्पशैलीगत तहबाट पनि अघिल्लोको तुलनामा पछिल्ला चरणका कविताहरूले अग्रगामिक उच्चता प्राप्त गरेका छन्। अघिल्लोलाई रगतकारेखाहरू कवितासङ्ग्रले प्रतिनिधित्व गरेको छ भने पछिल्लो चरणलाई अन्तिम दुईवटा कवितासङ्ग्रह क्रमैले केही नवीनतम कविताकृष्णचुडा, लाली गुँरास, तालगाछ र धुप्पीकारुखहरू सङ्ग्रले प्रतिनिधित्व गरेको छ। दृष्टव्य के छ भने अघिल्लो चरण वा रगतका रेखाहरू सङ्ग्रहका कविताहरूमा वैचारिक उच्चता दृष्टिपात भए तापनि कलागत मूल्यमा भने ह्वास देखापरेको छ। त्यससमयको राजनीतिक परिवेश, कविको पहाडबाट निर्वासन, राजनीतिक उत्ताप र द्वन्द्व तथा जनतासङ्ग सोझोसम्वाद गर्ने उत्कट ईच्छा आदि कारणहरूको सापेक्षतामा कलागत मूल्यमा देखापरेको ह्वासलाई हामीले साधरणीकरण गरेर हेर्नुपर्ने हुन्छ। 
  लेख:  निमा ‘निची’ शेर्पा, मङ्पू।   
 http://www.gafsaff.com/
loading...

कविता के हो ? कविताको काम के हो ? कवि विकास गोतामेसित यसको उत्तर थियो। उत्तर सही थियो वा गलत, त्यो बेगल विषय हो। कमसेकम, गोतामेसँग कवितायात्राको मिर्मिरे कालमा नै कविताबारे स्पष्ट अडान थियो। अभीष्ट थियो। त्यो अडान वा अभीष्टमा कहिले उलटपुलुट र उथलपुथुल देखा परेन। न ता कुनै विचलन नै देखापर्‍यो। मुटु र मिर्गौलाको

Read latest post filed under blog article

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.