स्व. विकास गोतामेका कविताहरूको पोट्रेट (अन्तिम भाग)

Bikash Gotamey and his poem 4 by Nima Nichi Sherpa
गोतामेली कविताको भाषा
गोतामेका कविताभाषालाई तत्सम मोह छैन। पाण्डित्य प्रदर्शनीको चाहना छैन। आडम्बारिताछैन। गोतेमेका कविता भाषालाई आगन्तुकीय लिप्सा छैन। उनी तत्सम चलाउनै पर्ने स्थितिमा मात्र तत्सम चलाउँछन्। आगन्तुक पनि जनजिब्रोमा रत्तिसकेका मात्र चलाउँछन्। उनका कविताहरूलाई दीर्घसमासरहित पद-पदावलीहरू प्रिय छ। निपातहरू प्रिय छ। उखान, टुक्का र थेगोहरू प्रिय छ। उच्च आलङ्कारिक तडकभडक उनका कविताहरूमा पाइँदैन। अलङ्कारहरूको सामान्य र चाहिँदो प्रयोगले उनी आफ्नो काम चलाउँछन्। 


अनुप्रास, दृष्टान्त, रूपक र उपमा उनको प्रिय अलङ्कार हो। उनको कविताभाषा लेख्य भाषा भन्दा कथ्य भाषाको धेरै नजीक छ। सहरीया भाषाको साटो कमाने भाषाको धेरै समीप छ। उनी कवितामा निम्न आदरर्थीहरू भक्कचुर चलाउँछन्। उच्च आदरर्थीहरू केवल उच्च र शोषक वर्गका मानिसहरूलाई व्यङ्ग्यको तीर हान्न चलाउँछन्। अनुकरणात्मक शब्दहरू चलाईबस्छन्। रातो, रगत, क्रान्ति, तूफान, खेतबारी, माटो, बीरबहादुर, दले, बले आदि उनको प्रिय शब्द हो, जुन बारम्बार कविताहरूमा आइरहन्छन्। कमान–बस्तिका अनपढ र अल्पशिक्षित दाज्यु–भाई, दिदी-बहिनीहरूले जे-जसरी बोल्छन्, त्यही भाषालाई त्यही लवजमा दुरूस्त टिपेर कवितामा उतार्ने उनको हरदम प्रयत्न छ। घुमाउरो भाषामा उनको आस्था छैन, उक्तिविचित्रतामा उनको आसक्ति छैन। सरल शब्दमा भन्नु हो भने कवि गोतामेका कविताभाषा प्रगतिवादी मूल्य-मान्यता अनुरूपका छन्। समय सापेक्ष। सरल र सहज सम्प्रेषणीय। आम बालीचालीका नजीक। स्पष्ट र सपाट। वास्तवमा उनको कविताभाषा कथ्यलाई सही र स्वाभाविक तरिकाले पछ्याउने किसिमका छन्। केही कवितांशहरू हेरौं–
स्वतन्त्रताको उन्तीस वर्षपछि जन्मेर
तैंले यसो भन्न शोभा दिंदैन मेरो छोरा
कि मैले खून खराबी किन गरिनँ !
सायद तँ सोच्छस् होला तेरो बाबु कुनै जमानाको बादशाह थियो
सायद तेरो विश्वास होला तेरो पिता-पूर्खासित थुप्रै धन-समपत्ति थियो
तर मेरो छोरा!
तँ मेरो यत्ति भनाइ त सत्य मान् कि
तेरा आमा-बाबु त्यस जमानामा पनि दलित र शोषित थिए,
तिनीहरू गरीब थिए,
तिनीहरू भोका थिए
                      (आज फेरि छोरासित)
माटो मजदुरको हो
माटो किसानको हो
जसले उमार्छ अन्न र फलफूल
यो माटो उसैको हो।
                   (यो माटो कसको हो)
 छि: बाबुले पनि अधिकार नमांग्नु नी
बरू पैसा मात्र मांगे त पूलिसले लाने नै थइएन।
               (म सबलाई सोध्छु– मान्छेलाई पैसाले किन पुग्दैन?
व्यङ्ग्त्मकता/अन्तरसम्वादात्मकता
गोतामेका प्राय सबै कविताहरू व्यङ्गत्मक शैलीमा रचिएका छन्। गोतामेका कविताहरूको व्यङ्ग्य पर-व्यङ्ग्य हो भन्ने कुरा ठिम्याउनलाई सोचिरहनुपर्ने कुनैआवश्यक्ता छैन। ती स्पष्ट र चिह्नित अवस्थामा छन्। गोतामेको प्रगतिवादी कविता लेखनप्रतिको प्रतिबद्धताले पनि यसै कुरातिर सरासर औल्याईदिन्छ। कवितामा पर-व्यङ्ग्यले सम्मानजनक स्थान नपाई प्रगतिवादी कविताको कामै अघि सर्दैन। पर-व्यङ्गयले द्वन्द्व सिर्जन्छ, द्वन्द्वले वर्गचेतनालाई टडकारो तुल्याउँछ। यद्धपि एकाधिक कवितामा स्व-व्यङ्ग्य पनि नपाइने चाहिँ होइन। स्व-व्यङ्ग्य भनेको विशेष प्रयोजन र उद्देश्यप्राप्तिको निम्ति आफ्नै तालु आफै तबेला बजाउनु हो। केही कवितांशहरू हेरौ–
माथिबाट हेर्दा कालो तर् लागेको
अनि भित्रचाहिँ गहिरो रगतको पोखरी जमिएको
शान्त दहभित्र हात चोबेर निकाल्दा
तिम्रो मनमा उत्थापित प्रतिक्रियालाई
के तिमी शान्ति भन्छौ ?
शान्ति त बिना क्लेष
बिना प्रतिरोध
बिना दुश्मनी
दुधको नदीजस्ता बही आउनुपर्छ
पहाडी झरनाजस्तो झरी आउनुपर्छ।
                                 (शान्ति)
हे भानु तिमीलाई खोल्नुछ पोल सन्तानकै अनेकन्
मर्दैछन् आज लडेर राम र लक्ष्मण
जता हेर्यो त्यतै देखिन्छन् आज रावण र इन्द्रजीत्
सुल्टोथ्यो भानु राम कथा तिम्रो उल्टो छ मेरो गीत।
                        (खोल्नुछ पोल सन्तानकै अनेकन्)
जूनकिरी भई जूनको सेखी गर्न तिमी नखोज
हत्केलाले सूर्यको ज्योति छेल्न तिमी नखोज।
                        (सूर्य छेल्न खोज्नेहरूसित)
कोल पेली तेल निकाल्छ
गिरीको छोरा फेरि तेल धस्छ
यत्ति हो उ पोखरीमा ननुहाएर
बाथरूमको सावरमा स्नान गर्छ
जबसम्म डडेलो सल्कँदैन यो बस्तीमा
त्यतिञ्जेल
गिरीहरू जन्मिरहन्छ
सुन्दा तिमीलाई दन्त्यकथा जस्तो लाग्छ
तर यो मधुमालतीको कथा होइन।
                              (बज्रठिंगाहरू)
व्यङ्ग्य वा व्यङ्ग्यात्मक शैली गोतामेका कविताहरूको एक महत्त्वपूर्ण विशेषता हो। यसै गरी अन्तर्सम्वादात्मकता पनि उनका कविताहरूको शैलीगत विशेषता हो। प्राय सबै कविताहरूमा उनी एकालाप गर्छन्। अन्तर्सम्वाद गर्छन्। सारमा भन्नु हो भने गोतामेको व्यग्य्त्मक वा अन्तर्सम्वादात्मक कविता शैली निकै द्वन्द्वात्मक र विचारोत्तेजक छन्। प्रभावी छन्।
कवितात्मक इतिहास
विकास गोतामेका कविताहरू भारतीय नेपालीहरूको सामूहिक जीवाई गाथाको संक्षिप्त इन्साइक्लोपोडिया हो। जातीय सङ्घर्षका आरोह-अवरोह तथा विभिन्न मोड र घुम्तीहरूका कवितात्मक अभिलेख हो। विश्वमा घटेका ऐतिहासिक महत्त्वका घटनाहरूको प्रलेख पनि हो। विकासका कविताहरूले ओगटेका देश र काल निकै व्यापक भएकाले उनका कविताहरूले दिने सूचनाहरू पनि निकै व्यापक र वैविध्यमूलक छन्। उनका कविताहरूमा चियाखेतीको प्रारम्भ, सिन्कोना खेतीको थालनी तथा विभिन्न समयक्रममा भएका श्रमिक आन्दोलनहरूका प्रामाणिक सूचना पाइन्छ। नेपाली भाषा मान्यता आन्दोलनको तीथिमीतिपरक इतिहास पाइन्छ। अझ गोर्खाल्यान्ड आन्दोलनको थालनी र अन्त्य, यसबीच घटेका विभिन्न घटनाहरूको तथा दार्जीलिङ पहाडी अञ्चलमा मार्कसवादी कम्युनिस्ट पार्टीको उदय र विस्तारको इतिवृतात्मक इतिहास पाइन्छ। यसैगरी १९७७ को आपतकाल, १९७६ को विश्वकप, १९८२ को दिल्ली एसियाई खेल, भियतनाम, फकल्याण्ड, दोस्रो विश्वयुद्ध आदि घटनाहरूको तथ्यपरक नालीबेली तथा तिनै घटनाक्रमहरूको आलोचकीय व्याख्या-विश्लेषण पनि पाइन्छ। 
सन् १९८६ मा गोर्खाल्यान्ड आन्दोलनको समय टासिडिङ्ग फारसबस्तीमा मार्क्सवादी कम्युनिस्ट पार्टीको समर्थक तिलक शर्माको घर अज्ञात असमाजिक तत्त्वहरूले आगोमा जलाइदिए। एकातिर टासिडिङ्गमा उनको घर दनदन जल्दैथ्यो भने अर्कातिर कालेबुंगमा उनको स्वास्नीको गर्भबाट नयाँ सन्तानले जन्म लिँदैथियो। त्यो सानु छोरी केही दिनमात्र बाँची। त्यही घटनाले द्रविभूत भएर लेखिएको कविता हो– प्रश्न- प्रश्न केवल यो पहाडलाई। आन्दोलनकालमा पानीघट्टाका दुई युवा कमरेडद्वय नीरज राई र नीरन प्रधानको हत्याकाण्डको प्रतिवादमालेखिएको कविता हो– रगतको स्याही कलममा हाली नीरज! नीरन! लेखिरहेछु यो कविता। यस्ता मसिना–मसिना तथा इतिहासले उपेक्षा गरिदिएका हिडन ट्रुथहरू विकासका कविताहरूमा बग्रेल्तै भेटिन्छ।
       विकास गोतामे इतिहासकार थिएनन। न ता उनको उद्धेश्य नै कवितामा इतिहास कोर्नु थियो। ती त केवल तत्कालीन घटनाचक्रहरूले उनको मानस र सम्वेदनामा पारेका प्रभाव र तिनका मुर्च्छनाहरू मात्र हुन्।
विकासका कविताहरूमा बिम्ब, प्रतीक र मिथक
गोतामे बिम्बमा कविता कोर्छन्। तर उनी बिम्बवादी कवि होइनन्। प्रतीकात्मक अभिव्यक्ति दिन्छन्। तर प्रतीकवादी कवि चाहिँ होइनन्। पहाडका मानिसहरूले हिउँदमा लुगामाथि लुगाको खाप चडाएर आफैलाई चिन्न मुस्किल बनाएजस्तो बिम्बमाथि बिम्ब खन्याउँदैनन उनी। प्रतीकहरूको अटब्बे जङ्गलमा पाठकलाई असरल्ल छाडिराखेर हराउने प्रवृत्ति पनि छैन उनमा। यसको तात्पर्य बिम्ब र प्रतीकमा उनको दरिलो पकड छैन अथवा उनी यी सादृश्य अवयवहरू कनीकनी सिर्जन्छन् भन्ने पनि होइन। वास्तवमा विकासका कविताहरूमा बिम्ब र प्रतीकहरूको चाहिँदो प्रयोग छ। आवश्यक्ता र प्रयोजनअनुरूप प्रयोग छ। आसक्ति छैन।
आफ्ना मानसमा गाडा बनेर बसेका वस्तु, व्यक्ति, घटना, प्रसङ्गआदिलाई अन्य त्यस्तै वस्तु, व्यक्ति, घटना, प्रसङ्ग आदिको सादृश्यतामा उभ्याएर मिल्दोजुल्दो शाब्दिकचित्र उतार्नमा उनी खप्पिस छन्। यसैगरी वििन्न प्रभाव र मनोस्थितिहरूको सादृश्यमूलक कविताचित्र उतार्न पनि उनी खप्पिस छन्। उनका कविताहरूमा मानवीयमनका विभिन्न भावहरूको अङ्कन–प्रत्याङ्कन पाइन्छ। गाउँ–घरका ढुङ्गा-माटो, हावा-पानी, उकाली-ओराली, चाड-पर्वदेखि लिएर गाउ-घरकै आँगन-डीलमा घटेका य़थार्थिक घटनाहरूलाई उनले कविताको बिम्ब रोजेका छन्। वैश्विक परिवेशबाट प्रतीकहरू जोरजार गरेका छन्। ती सर्कलहरूबाटै मिथकहरू बटुलेका छन्। उनले कवितामा चलाएका कतिपय बिम्बहरू यस्ता पनि छन्, जो पटक–पटकको प्रयोगले प्रतीककै श्रेणीमा रूढ हुन पुगेका छन्। दृष्टान्त: रातो, रगत, क्रान्ति, तूफान, बीरबहादुर, धुप्पीका रुखहरू आदि। केही कवितांशहरू हेरौ–
अस्ती पतझडमा यो ठूलो रुख नग्न थियो।
यसमा कागहरूले गुँड बनाए
एक जोडा चीलले गुँड लाए
पोथीले अण्डा दियो
भालेले चारो खोजी ल्यायो।
                       (परिवर्तन)
यसर्थ. म आफै भने
तूफान बोकेर आउँछु
तर तूफानसितै खडेरी परेको पहाड भिजाउन
समुद्रबाट म पानी बोकेर आउँछु
भन त कालो मेघले अन्धकार भई
आकास गडगडाएपछि
बिजुली चम्केपछि
तूफानसितै असिनापानी वर्सिएपछि
तुवाँलो फाटी
आकास कत्ति छयाङ्ग उज्यालो बोला।
                         (फर्कदा तूफान बोकी आउँछु)
एक महिना अघि तन्देरी भएकोयो जहाज
फक्ल्यान्डबाट एकै महिनामा बूढो भएर आउँदैछ।
                          (फक्ल्यान्डबाट वापसी)
शंकरले सतीदेवीको मृतदेह बोकेर यो पृथिवी परिक्रमा गरे जस्तै
र सतीदेवीको अँग-प्रत्यङ्ग ठाउँ-ठाउँ झरेर
आजका तीर्थस्थलहरूका नामकरण भएजस्तै
इतिहासले पनि एकदिन हिटलरको लाश बोकेर
यो विश्व परिक्रमा गरेको थियो।
छात्ती इङ्गल्यान्डमा
दाहिने-देब्रे हातहरू
दक्षिण अफ्रिका र ल्याटिन अमेरिकामा
खुट्टाहरू मध्य-पूर्व युरोप र एसियामा
अनि सायद कुहेर अन्तमा एक टुक्रा औला झरेकोथियो
यो मेरो आफ्नै भारत भूमिमा।
                              (हिटलरको प्रेतात्मा)
गोतामेली कविताहरूको पोट्रेट : मुख्य बुँदा
-    विकास गोतामे प्रगतिवादीधाराका एक सशक्त कवि हुन्। उनका कविताका विषयवस्तु, भाव र विचार तथा शिल्पशैली दुवैले प्रगतिवादी मूल्य-मान्यतालाई सचेतन आत्मसात गरेकाछन्।
-    नेपाली कविताको विकासमा सङ्ख्यात्मक र गुणात्मक दुवैदृष्टिले उनको योगदान महत्त्वपूर्ण छ। कविताइतर कथा, नाटक, एकाङ्की, समालोचना र अनुवाद उनको विद्यागत क्षेत्र हो। साहित्यिक स्तर र गुणका दृष्टिले यस फाँटका रचनाहरू पनि महत्त्वपूर्ण छन्।
-    ऐतिहासिक घटना वा गोर्खाल्यान्ड आन्दोलनको आधारमा गोतामेका कविताहरूलाई आन्दोलनपूर्व र आन्दोलनपछिका कविता गरेर दुईवटा चरणमा विभाजन गर्न सकिन्छ। अझ आन्दोलनपछिका कविताहरूलाई तिनमा अन्तर्निहित प्रवृत्तिगत भिन्नताको आधारमा दुईवटा चरणमा छुट्याएर अध्ययन गर्न सकिन्छ।
-    प्रगतिवाद नै गोतामेको मुख्य कविता प्रवृत्ति हो। यद्धपि उत्तरार्द्का कविताहरूमा अस्तित्ववादी चेतना तथा मृत्युबोधको पनि टडकारो प्रतिबिम्बन पाइन्छ।

-    उनका कविताहरूको केन्द्रबिन्दु हो – समाज। समाजका विभिन्न रूप, तह, पाटा तथा पक्षहरूको पर्यवेक्षण उनका कविताहरूको विषयक्षेत्र हो। समाजमा विद्यमान शोषण, अन्याय र अत्यचारको विरोध, साम्राज्यवादी हैकमप्रतिको तीव्र घृणा, विश्व साम्यवादी आन्दोलनको प्रचार-प्रसार र ऐक्यबद्धताको प्रदर्शन, धार्मिक रूढि, अन्धपरम्परा, अन्धविश्वास, जातपातको भेदभाव, साम्प्रदायिक असहिष्णुताको विरोध, सर्वहारावादी मानवतावादको उद्बोधन, सर्वहारावर्गको विजयप्रति विश्वास, सिद्धान्तलाई व्यवहारमा उतार्ने लेखकीय प्रतिबद्धता तथा समय सापेक्ष शिल्पशैली उनका कवितागत विशेषता हुन्। 
समाप्त  



http://www.gafsaff.com
loading...

गोतामेका कविताभाषालाई तत्सम मोह छैन। पाण्डित्य प्रदर्शनीको चाहना छैन। आडम्बारिताछैन। गोतेमेका कविता भाषालाई आगन्तुकीय लिप्सा छैन। उनी तत्सम चलाउनै पर्ने स्थितिमा मात्र तत्सम चलाउँछन्। आगन्तुक पनि जनजिब्रोमा रत्तिसकेका मात्र चलाउँछन्। उनका कविताहरूलाई दीर्घसमासरहित पद-

Read latest post filed under blog article

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.