स्व. विकास गोतामेका कविताहरूको पोट्रेट (भाग – ३)


Bikash Gotamey And his Poem 3 by Nima Nichi Sherpa
मृत्युको पछ्यौरी र वर्गीय बानी  

कृष्णचुडा, लाली गुँरास, तालगाछ र धुप्पीका रुखहरू कवितासङ्ग्रह अन्तर्गत श्रद्धाञ्जलीकादुइशब्द मा रत्न बान्तवा लेख्छन्– ....मद्रासको एपोलो अस्पतालमा ३ महिना रहेपछि विकासजीलाई सिकिस्त अवस्थामै १९९२ को जनवरी १४ तारीख कलकत्ताको एस.एस.के.एम (पी.जी.) अस्पतालमा सारिने काम भयो। (मद्रास जान अघि कलकत्ताकै एन.आर.एस अस्पतालमा उनी चिकित्सारत थिए) हार्टको मेजर ओपरेसन त भइहाल्यो, सायद किडनीको अवस्था सुध्रेला अब– भन्ने आशा थियो।......मृत्युसँगको लुकामारी, हामी साथीभाईसँगको लुकामारी पनि थियो। खबर सुनेर हामी खुशी हुन्थ्यौं, फेरि अर्को खबर आइपुग्थ्यो– विषाद बोकेर। हुँदाहुँदै आखि रत्यो निष्ठुर घडि पनि आईपुग्यो। २८ जून १९९२, दिउँसो १२ बजेर ४२ मिनट! विकासजी निदाए, फेरि नब्युँझने गरी!
भारतीय साहित्यका निर्माता विकास गोतामे पुस्तकमा जय क्याक्टस लेख्छन्–राजनीतिक दौडधूप, साङ्गठानिक कार्यक्रम तथा साहित्यिक लेखनमा समान रूपले सफलता हासिल गर्ने विकास गोतामे शारीरिक रूपले भित्रभित्रै शिथिल बन्दै गइसकेका थिए सायद। १९९१ को संसदीय चुनाउमा तथा सँगसँगै सम्पन्न विधानसभा चुनाउमा अत्याधिक परिश्रम गर्नुले साँच्चै उनलाई थला पार्यो। मुटु र मिर्गौलाको रोगले उनलाई आक्रान्त पारिसकेको बुझियो।....२८ जून १९९२ को दिउँसो १२ बजेर ४० मिनटजाँदा आफ्नो सम्पूर्ण कर्म, साथी-भाइ, परिवार, आफन्त, पार्टीका कार्यकर्ता, पाठक सबैलाई रुवाउँदै उनी ईश्वरको काखमा रहन पुगे।
मृत्युसितको प्रत्यक्ष एनकाउन्टरकै अवधि अर्थात् दुई वर्षको (११ नोभेम्बर, सन १९९१ देखि २३ अप्रेल, सन् १९९२) छोटो अवधिभित्र दुईवटा कवितासङ्ग्रह (केही नवीनतम कविताहरू अनि कृष्णचुडा, लाली गुँरास, तालगाछ र धुप्पीका रुखहरू) पनि नेपाली साहित्यलोकमा चडाउन सक्षम बने। यी दुईवटा सङ्ग्रहका कविताहरू पूर्ववर्ती सङ्ग्रहका कविताहरूभन्दा भिन्न छन्। कविताहरूको वैचारिक आधार वा धरातल उही र एकै भए तापनि पछिल्ला दुईवटा सङ्ग्रहका कविताहरूमा मृत्युबोधको टडकारो उपस्थिति छ। वर्गीय बानीमा मृत्युको पछ्यौरी गाँसिएको छ। आयामगत छरितोपन तथा कविताअवयवहरूको समुचित प्रयोगका दृष्टिले यसचरणका कविताहरू निकै कलात्मक छन्।
यस चरण वा अवधिका कविताहरूमा जीवन र मृत्युको लिङ्गेपिङ्गमा झुलिरहेका कविको अनतर्मनमा मच्चिरहेको आशा-निराशा, जिजिविषा-गिजिविषा तथा शारीरिक पीडा र मानसिक छटपटीले कलात्मक वाणी पाएका छन्। गाउँ-घरको माया, परिवारको चिन्ता आदि इतर कूराहरूले प्रत्यक्ष/परोक्ष अभिव्यक्ति पाएका छन्। यद्धपि मृत्युकै मुखेञ्जी पनि वर्गीय प्रतिबद्धता भने उनले बिर्सेनन् तथा जीवनकै अन्तिम कविता लेख्दासम्म यो प्रतिबद्धता हरियै थियो।
रोगले थला परेर कलमसम्म उचाल्न नसक्ने शारीरिक असक्षमताबीच कविता कोर्न नसक्नुको पीडालाई अलिक बिसेक भएपछि लामो अन्तरालको छोटो डायरी मा यसरी व्यक्त गर्दछन् कवि–
संसारले भूल्न सक्छ तँलाई
अथवा तँ संसारलाई भूल्न सक्छस्
तर तेरो-मेरो सम्बन्ध अटूट छ/रहनपर्छ
खै के जवाब दिउँ कलमलाई
मैले यो तीन महिनासम्म
किन समात्न सकिनँ तँलाई।
उनी मृत्युसित लडिरहेको समय पनि क्रान्तिको सपना पाल्छन्। शरीरले साथ नदिए तापनि उनी क्रान्तिको महाजुलुसमा प्रथम लश्करमा भावनात्मक रूपले उभिन चाहन्छन्–
कत्ति गहिरो यन्त्रणाभित्र पनि मेरो शरीरमा
एउटा अन्तस्फूर्ति आज घरि-घरि जन्मन खोज्छ
केही दिनदेखि अस्पतालको झ्यालबाट देखिने
यी कृष्णचुडाका गुच्छा-गुच्छा फूलहरू
आज मलाई भिन्नै लाग्छ
मन्द हावाको स्पर्शमा
थुँगाहरू सलल हिँडेको जस्तो लाग्छ
म तिनीहरूसितै महाजुलुसमा हराइसकेको हुन्छु।      
अझ एकाधिक कवितांशहरू हेरौ–
म यो जीवन-मरणको दुवैपट्टिको किनारमा
तर पनि आज म बलियो खुट्टा टेकेर उभिरहेछु–
तूफानदेखि अभय भएर
म समुदकै छालदेखि निर्भय भएर।
                           (मेरो हालत)
म बेचैन छु आज
जिन्दगीमा अब दुईपल उब्रेको घडी
कि त अब दुईपल उब्रे समय
यो पनि त्यस्सै निस्सार बित्छ कि भनेर
यो पनि त्यस्सै बेअर्थ बित्छ कि भनेर
यसैर बेचैन छु म अचेल
यसैर छटपटाइरहेछु अचेल।
                           (मेरो बेचैनी)
प्रियतमा!
मलाई फर्काऊ
म हरियो चियाबारीमा बाँच्न चाहन्छु
मलाई बचाऊ
म लाली गुँरासका फूलहरूमा बाँच्न चाहन्छु
मेरो वापसीको तम्तैयार गर
म पहाडी झरनाहरूमा जीउन चाहन्छु
मेरो जय यात्राको प्रस्तुती लेऊ
म जनतामा जीउन चाहन्छु
यसर्थ, प्रियतमा !
तिमी फर्की आउँदा एक गुच्छ कविता
तिमीलाई उपहार दिन चाहन्छु।।
                     (तिमी फर्की आउँदा)
  गोतामेका कविताहरूको वस्तुसार  
वर्ग चेतना वा श्रम सिद्धान्तको आलोकबाट विश्वकै उत्पीडित–शोषित मानिस, समूह वा जाति–गोष्ठिको पक्षमा दरिलो उभिनु गोतामेका कविताअभीष्ट हो। परिवर्तन, क्रान्ति र साम्यवादको स्थापन उनको कवितासपना हो। उनी कवितामा  भाव कम विचार धेरै लेख्छन्। विचार पनि स्पष्ट पोख्छन्। उनका कविताहरूमा मानवीय शोषणका विभिन्न रूपहरूको भण्डाफोर छ, स्थानीय वा क्षेत्रीय स्तरदेखि वैश्विक स्तरका शोषण मनोवृत्तिहरूको नाङ्गोचित्र छ तथा तिनलाई पक्षपोषण गर्ने व्यक्ति, सङ्घ–संस्था, व्यवस्था र सिद्धान्तहरूप्रतिको विरोध, विद्रोह र क्रान्ति छ। केही कवितांशहरू हेरौं–
बीरबहादुर तिमीले पूल बनायौं
बलबहादुर तिमीले कारखाना बनायौं
तर सङ्गमर्मरमा कुनै ठग राजनेताको नाम लेखियो
                                      (बीरबहादुर)
आज जुन बादल छाएको छ हाम्रो गाउँको आकाशमा
आज जुन दुर्गन्ध छाएको छ हाम्रो गाउँको बतासमा
सुर्ता नगर तिमी
एकै झर्को दर्कने पानी परेपछि यो हराउने छ।
यसै र हाम्रो गाउँको निम्ति बादलमा हराएको सूर्य खोज्न
मैले गाउँ छाडेको छु।
                      (गाउँको नाममा एउटा चिट्ठी)
तिमी पुञ्ज-पुञ्जका तृप्तिहरू बोकेर आऊ
म कुञ्ज–कुञ्जका अभावहरू लिएर आउँछु
तिमी विश्व-विपुलता समातेर निक्ल
म भोक, रोग र शोकको चित्कार लिएर आउँछु
टक्कर भयानक होस्
सङ्घर्ष निर्णयात्मक होस्
आओ एउटा जङ्ग लडौं!
                       (आओ एउटा जङ्ग लडौं)

खेत रोप्ने बीरबहादुरको खेतै छैन
यो खेतबारीको दोष होइन
बाटो बनाउने बीरबहादुरलाई हिँडन बाटै छैन
बीरबहादुरको राहु, केतु बिग्रेको होइन
यसैकारण बीरबहादुर,
तिमी आँखीझ्यालबाट संसार हेर्ने कोशिष नगर
बरू खुल्ला संसारमा उभेर
आँखीझ्यालबाट कसले हेर्दैछ चिन्ने कोशिष गर
तिम्रो बल-बर्कतमा कसले राल चुहाउँदैछ चिन्ने कोशिष गर
तिम्रो जीउको मासु कसले चोरी लाँदैछ चिन्ने कोशिष गर।
                                 (लड! बीरबहादुर तिमी लड!)
  आख्यानात्मकता  
कवि बिकास गोतामे मझौला आयामका कविता लेख्छन्। हरदर ४५ हरफे कविता। एकाधिक कविताहरू निकै लामा आयामका पनि छन्। दृष्टान्त: दार्जीलिङमा बिहान भइरहेछ कविता ३०० वटा हरफहरूमा संरचित छन्। मुक्तकीय मोह छैन उनमा। संक्षिप्तता वा सूत्रात्मकता मोह नभएर, सायद। गद्यमा कविता कोर्ने भएकाले हरफहरूमा अक्षर वा शब्दहरूको वितरण र व्यवास्थापन गर्ने काममा अराजकता देखिनु स्वाभाविक नै हो। उनका कविताहरूमा एउटै शब्दले ठिङ्ग उभेका हरफहरू भेटिन्छ भने बाह्र-तेह्रवटा शब्दले बनेका हरफहरू पनि बग्रेल्तै भेटिन्छ। कवितायात्राको प्रथमार्द्धको अपेक्षा उत्तरारद्दका कविताहरूमा आयामगत छोटा-छरितापनपाइन्छ।
कवि गोतामे सोलोडोलो प्रवाहका कविता धेरै लेख्न रूचाउँथे। ननस्टप गतिका यस्ता कविताहरू कति त पठनका दृष्टिले निकै दुरूह छन्। लामा दुरीका कविताहरूलाई ठाउँ-ठाउँमा स्टपेज ब्रेकर त चाहिन्छ नै। एकैनासे गति त पट्यारलाग्दो हुन्छ। गोतामेले कतिवटा कवितामा चाहिँ खण्डदर्शनको बाटो अप्नाएका छन्। ती कविताहरूमा मुख्यतपङ्तिपूञ्ज र अंशत: भाग–खण्डहरूमा विभाजित गरेका छन्। यति र गतिको व्यवस्थापन गरेर कविताको गतिलाई संयमित तुल्याएका छन्।
कविता संरचनाका दृष्टिले आधुनिक कविता तीन प्रकारका हुन्छन्– प्रगीतात्मक, आख्यानात्मक र नाटकीय। गोतामेका कविताहरू दोस्रो प्रकार अन्तर्गत पर्दछन्। गोतामेका कविताहरूले कुलैनबारी–चियाबारीका बीरबहादुर, बलबहादुर, पेमाल्हमू, साहेब, बडा-बडी, बाजे-बराजु, माउत्सेतुङ्ग, चेग्वाभारा आदि काल्पनिक/यथार्थिक पात्र-पात्राहरूको कथा भन्छ। विशवमा चलेका विभिन्न साम्यवादी आन्दोलनका गाथाहरू भन्छ। भियतनाम, फकल्याण्ड, रूस, बेरूत आदि स्थानका एतिहासिक महत्त्वका घटना-दुर्घटना, सन्दर्भ-प्रसङ्ग सुनाउँछ। उनका कविताहरूमा गति र क्रिया सूचक शब्दहरूको बाक्लै उपस्थिति पाइन्छ। प्रथम पुरूष दृषिटबिन्दु प्रयोग गरेर होस् अथवा सर्वज्ञ दृष्टिबिन्दु प्रयोग गरेर होस्, उनका कविताहरूमा पात्र-पात्राहरूको मनग्गे चलखेल पाइन्छ। कति कविताहरूमा ती पात्र-पात्राहरू वाद-विवाद गर्छन, कतिमा चाहिँ अन्तर्सम्वाद। यसको अर्थ गोतामेका कविताहरू कविता कम कथा धेरै छन् भन्ने चाहिँ होइन। उनका कविताहरूमा आख्यान वा कथा तत्त्वको गहिरो प्रभाव छ भन्ने मात्र हो। उसो त उनका कविताहरूमा नाटकीय र गीतितत्त्वहरूको पनि प्रभाव त छँदैछ। उनका प्राय सबै कविताहरूमा द्वन्द्वविधानको सशक्त प्रयोग पाइन्छ। प्रगतिवादी कवितालेखन सशक्त र प्रभावी द्वन्द्वविधानको अभावमा सम्भव हुने कुरा पनि होइन। कविताहरूमा कहिलेकाही अन्तर्द्वन्द्वको चरमचुली भेटिन्छ भने धेरैजसो ब्राह्यद्वन्द्वको चरमचुली भेटिन्छ। एक-दुई उदाहरण हेरौं–
कुनै कविलेभनेकाथिए–
म तिम्रो मेघ जस्तो
कालो कपालमा अल्झिएँ
हरिणी आँखामा अल्झिएँ
दारिमी दाँत र गुलाफको पत्रदलझैँ
तिम्रो कोमल ओँठहरूमा अल्झिएँ।
तर मभने
पखेटाहरू फटफटाउँदै आकशमा उडन नसक्दा
यही धरती र यसका
डाँजा-काँडा र समभूमिमा अल्झिएँ
जालहारीको जालको
महाजाल भएर म समुद्रमा अल्झिएँ
                     (म अल्झिएँ)   
-यही सपनाविपनामा हरघडी बोकेर हिँडने मान्छे म
तर आज किन यी सब बेअर्थका सपनाहरू देख्छु?
                                (सपना)
आज म यो अस्पतालमा तटस्थ भएर उभिरहेछु
म यो जीवन-मरणको दुवैपट्टिको किनारमा
तर पनि आज म बलियो खुट्टा टेकेर उभिरहेछु-
तूफानदेखि अभय भएर
म सामुद्रिक छालदेखि अभय भएर।
                                (मेरो हालत)
खासमा मुटु र मिर्गौलाको ज्यानमारा रोगले थलिएर अस्पतालमा जीवन-मरणको लिङ्गेपिङ्गमा झुलिरहेका अवस्थामा रचिएका कविताहरूमा अन्तर्द्वन्द्वको निकै सघन प्रयोग पाइन्छ। ती अन्तर्द्वन्द्वको तात्पर्य व्यक्तिगत जस्तो लागे तापनि ती नितान्त व्यक्तिगत नभएर साम्यवादी सपनासित नै सरोकारित छन् भन्ने बुझ्न अत्यावश्यक छ। यसैगरी उनले घेरैजसो कविताहरूमा स्थायी वा मुख्य स्वरको पटक-पटक पुनरावृत्ति गर्ने प्रगीतविशेषतालाई पनि आवश्यक्ताअनुरूप प्रयोग गरेका छन्। अन्त्यानुप्रासको पटक-पटक प्रयोगबाट सङ्गीतमोह पनि दर्शाएकाछन्। जस्तो कि मान्छेलाई पैसाले किन पुग्दैनकवितामा पैसाले किन पुग्दैनसिङ्गोहरफ नै कवितामा नौ-दसचोटि पूनरावृत्ति भएको छ। 
क्रमश : ....

विकास गोतामेका कविताहरूको पोट्रेट (भाग – १)

स्व. विकास गोतामेका कविताहरूको पोट्रेट (भाग – २)
स्व. विकास गोतामेका कविताहरूको पोट्रेट (अन्तिम भाग)
http://www.gafsaff.com
loading...

कृष्णचुडा, लाली गुँरास, तालगाछ र धुप्पीका रुखहरू कवितासङ्ग्रह अन्तर्गत श्रद्धाञ्जलीकादुइशब्द मा रत्न बान्तवा लेख्छन्– ....मद्रासको एपोलो अस्पतालमा ३ महिना रहेपछि विकासजीलाई सिकिस्त अवस्थामै १९९२ को जनवरी १४ तारीख कलकत्ताको एस.एस.के.एम (पी.जी.) अस्पतालमा सारिने काम भयो। (मद्रास जान अघि कलकत्ताकै एन.आर.एस अस्पतालमा उनी चिकित्सारत थिए) हार्टको मेजर

Read latest post filed under blog article

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.