गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ गुटका सक्रिय साङ्गठनिक सचिव रोहित
थापाले पार्टीबाट राजीनामा दिएका छन्। गोजमुमो पार्टीको गठनपछि डुवर्समा छुट्टै
राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि सार्दै पार्टी विस्तारमा महत्वपूर्ण भूमिका
निभाउँदै आएका रोहित थापा अहिले पनि भूमिगत विमल गुरुङ गुटमा नै रहेका थिए। यसका
साथै उनले अहिले पनि डुवर्समा पार्टीको साङ्गठनिक कार्यहरू गर्दै आइरहेका थिए।
विशेष गरेर लोकसभा चुनावमा पार्टीका अध्यक्ष विमल गुरुङले कसैसँग परामर्श
नगरी भाजपा उम्मेद्वार राजु विष्टलाई समर्थन गरेको भन्दै उनले राजीनामा दिएका छन्।
यसबारे गोजमुमो विमल गुटका रोहित थापाले सिलगडी जर्नलिस्ट क्लबला पत्रकार सम्मेलन
डाकेर राजीनामा दिएको आधिकारिक घोषणा गरेका छन्।
‘2008 देखि अहिलेसम्म गोर्खाल्याण्डको निम्ति विमल गुरुङलाई छुट्टै राज्य
गोर्खाल्याण्डको निम्ति साथ दिँदै आइरहेका थियौँ। तर अहिले आएर हामी ग्राउण्ड
जिरोमा कार्य गर्नेहरूसँग कुनै सल्लाह नगरी उनले दिल्लीमा बसेर जुन निर्णय लिएका
छन् त्यसको विरोधमा आजदेखि म पार्टीबाट राजीनामा दिइरहेको छु’ गोजमुमो विमल गुटका
साङ्गठनिक सचिव रोहित थापाले राजीनामाको घोषणा गर्दै भने।
उनले लोकसभा चुनावमा प्रार्थी जोसुकै भए पनि अहिलेसम्म साथ दिँदै आएको
बताउँदै जसवन्त सिँह, एस आहलुवालीयालाई साथ दिएको अनि अहिले राजु विष्टलाई पनि
समर्थन गर्नु कुनै आपत्ति नरहे पनि ‘यसपल्ट हाम्रो मूल मुद्दा कहाँ पुग्यो?’ भनि
प्रश्न तेर्साएका छन्।
‘विमल गुरुङ दिल्लीमा बसेर आफ्नो बचाउको राजीनिती गर्दैछन् अनि उनले जुन गोरामुमो
पार्टीसँग गठबन्धन गरेका छन् उनीहरूको मुद्दा नै छैटौँ अनुसूची हो। त्यो हो भने
हाम्रो मूल मुद्दा कता हरायो?’ रोहित थापाले भनेका छन्।
यसक्रममा उनले एक प्रश्नको जवाब दिँदै विनय तामाङले विकासको मुद्दालाई
पहिलो प्राथमिकता दिएको जस्तै आज भाजपाले किन सोझै गोर्खाल्याण्ड भन्न सकिरहेको
छैन पनि भनेका छन्। भाजपाले दार्जीलिङ पहाडमा जाँदा गोर्खाल्याण्ड अनि समतलमा
झरेपछि विकास भनेर दुईप्रकारको चरित्र देखाउने कार्य गरेको आरोप लगाउँदै यस्तो
दुईप्रकारको चरित्रले ठिक नहुने पनि बताएका छन्। यसक्रममा उनले हालमा आफु कुनै
राजनैतिक दलमा सामेल हुने चाहना नरहेको पनि स्पष्ट पारेका छन्।
‘जुन दिनदेखि विमल गुरुङ अनि उनका कम्पनी भूमिगत भएर साङ्गठनिक कार्यहरू
गर्न सकेनन् त्यसैदिन देखि मैले सङ्गठनलाई
दह्रो बनाउने कार्य गरिरहेको छु। तर, आज दिल्लीमा सबैथोक सेटिङ गरेर किन उनले
सबैलाई एकवद्ध बनेर अघि आउने आह्वान गर्दैछन्? किन गोरामुमो पार्टीका नेताहरूसँग
मात्रै उनले दिल्लीमा वैठक गरे? क्रामाकपा र जापलाई किन बोलाइएन?’ रोहित थापाले
विमल गुरुङप्रति प्रश्न तेर्साएका छन्।
http://www.gafsaff.com
Post a Comment
We love to hear from you! What's on your mind?