गत तीन चारदिन देखि मङपु क्षेत्रमा पनि एयरसेलको नेटवर्क नभएर उपभोक्ताहरु समस्यामा परेका छन् | बिशेष गरेर यहाँको लाब्दा विभागका मानिसहरु धेरै नै प्रभावित बनेको पाइएको छ किन भने लाब्दा विभागमा पहिलो पल्ट मोबाइल नेटवर्कले काम गरेको भनेको नै एयरसेल थियो यसैले यहाँका अधिकतर मानिसहरुले एयरसेलको सिम प्रयोग गरिरहेका छन् भने बारबार नेटवर्कको समस्याले वाक्कदिक्क बनेका उपभोक्ताहरुले भोडाफोनको सिम प्रयोग गर्न थालेको पाइएको छ | तैपनि पारी सिटोङ सेल्पूमा जडान गरिएको एयरसेलको टावरबाट राम्रो नेटवर्क पाउने हुनाले लाब्दा विभागका मानिसहरुले एयरसेलको सिम प्रयोग गर्दै आफ्नो ब्यांक एकाउन्ट, अन्य सरकारी कागजपत्रमा पनि यसै नम्बर जोडेको हुनाले समस्या निक्कै गम्भीर बनेको छ | हुन त अन्य नेटवर्क कम्पनीहरुले वोइस कल संगै थ्रीजी, फोरजी डाटाको सुविधा उपलब्ध गराए पनि एयरसेलले आजसम्म पनि २ जीको डाटा सेवा दिएकोले इन्टरनेट उपभोग गर्नेहरुलाई खासै खुशी पार्न सकिरहेको थिएन | त्यसैमाथि केही महिनादेखि एयरसेलको नेटवर्क संधैको निम्ति बन्द हुने अफवाहले उपभोक्ताहरुले भोडाफोनमा आफ्नो नम्बर पोर्ट गरिरहेका थिए | केही हप्तादेखि यसको भाउचरहरु पनि बजारमा उपलब्ध हुन छोड्यो | तैपनि पोर्ट गर्नलाई पोर्टीङ कोड मगाउँदा एयरसेल कम्पनीले आफ्नो कम्पनी बन्द हुने कुरो अफवाह मात्र रहेको हरेक उपभोताहरुलाई मेसेजमा बताइरहेको भए पनि हठात् केही दिन अघि सम्पूर्ण पहाडभरि नै एयरसेलको नेटवर्क बन्द भएपछि यसका उपभोक्ताहरु चिन्तामा पर्नु स्वाभाविक पनि हो | यदि कम्पनी साँच्चै बन्द नहुने हो भने एयरसेलले आफ्नो उपभोक्ताहरुलाई आफ्नो कम्पनीसितै राख्न यथासिघ्र कुनै पदक्षेप लिन जरुरी रहेको देखिन्छ ||
Post a Comment
We love to hear from you! What's on your mind?