गोर्खा जनमुक्ति मोर्चा द्वारा डाकिएको १२ घण्टा बन्दले मङपु क्षेत्रमा पनि असर पर्यो | दोकान, यान वहान, ब्यांक, विधालय पूर्णरुपले ठप्प रहेको थियो | बंगला भाषालाई दार्जीलिंग पहाडको पाठ्यक्रममा हालिने राज्यकी मुख्यमन्त्री ममता ब्यनार्जीको निर्णयपछि छुटेको विवादले बिहिबार दार्जीलिंग शहर अशान्त रहेको थियो जहाँ प्रशासन अनि मोर्चा समर्थक माझ लामो झडप हुँदा पुलिसबलले समर्थकहरुमाथि लठी चलाएको आरोपमा मोर्चाले बाह्र घण्टा पहाड बन्द डाक्यो | यसै बन्द अवधि गाडी चलाएको आरोपमा मङपु नालीडांडामा बिहान करिब ७ बजे सिलिगुडीदेखि दार्जीलिंग गइरहेको इनोभा कारलाई आक्रोसित मोर्चा समर्थकहरु द्वारा तोडफोड गरिएको छ | यसरी नै फेरि बिहानको प्राय: १०:३० तिर बिचकमान भष्मेमा निर्माणाधीन आइटीआई कलेजको अस्थायी साइट अफिस पनि जलाइएको छ | घटनापछि निरीक्षण गर्न पुगेका पुलिस सीआई पुरण राई अनि एसआई सुदीप दास रङली थानाबाट प्राप्त जानकारी अनुसार घटनामा जम्मा पाँच जना घाइते भएको बताइएको छ जसमा प्रोजेक्ट म्यानेजर सिद्दार्थ तामांग अनि साइट म्यानेजर रघुनाथ देलाई हात, खुट्टा, टाउको आदिमा सामान्य चोट लागेको अनि पुलिसको सहयोगमा रम्बी अस्पतालमा लगिएको जानकारी प्राप्त छ | दुई घाइतेहरुले आफुहरुको जम्मै आवश्यकीय कागजपत्र पनि कागजसितै जलेर खरानी भएको बताएका छन् | यसरी नै आज यहाँको सम्पूर्ण सिन्कोना बगानमा पनि बन्द डाकिएको थियो भने कमानहरु बन्द रहेपनि यहाँको सिन्कोना कार्यलय खुल्ला राखेको कारण निर्देशकको कार्यलयमा पनि आंशिक क्षति पुराएको छ | घटना सम्बन्धमा मोर्चा मङपु लाब्दा समष्टि सचिव रतन लामासित बुझ्न चाहँदा उनले आइटीआइको अफिस जलाउने काम मोर्चा समर्थकले नगरेको र सरकारको नीति विरुद्ध चरम आन्दोलन चलिरहेको समय मोर्चालाई दोषी देखाउनलाई अन्य कुतत्वहरुले नै गरेको बताएका छन् |
यस घटनापछि क्षेत्रमा मुखामुख सन्त्रास फैलिए पनि स्थिति सामान्य रहेको पाइएको छ | अझ थप केही अप्रिय घटना हुने आशंकामा पर्यटकहरुलाई पुलिस एस्कर्ट द्वारा राष्ट्रीय राजमार्ग १० सम्म पठाइने व्यवस्था गरिएको छ भने क्षेत्रमा शान्ति बनाइराख्न ६० जना पुलिस अनि आरएएफका जवानहरु तैनाथ गरिएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?