मङपु क्षेत्रका स्टेट ब्यांक खाताधारीहरुले दिनकोदिन आफ्नै खाताबाट पैसा निकाल्नमा पनि समस्या झेल्न परिरहेको कुरो प्रकाशमा आएको छ | यहाँको दार्जीलिंग फाटकमा स्थापित स्टेट ब्यांकको ग्राहक सेवा केन्द्रमा यस ब्यांकका खाताधारीहरु हरेकदिन सेवा केन्द्र नखोली बिहानैदेखि आफ्नो पैसा निकाल्न रुंगेर बसेपनि आफुले चाहे जस्तो पैसा निकाल्न नसकिरहेको गुनासो ग्राहकहरुको छ | बिशेष सुत्रबाट थाहा लागे अनुसार यस केन्द्रमा हरेक दिन केवल दुई लाख रुपियाँ मात्र आउने गरेको कारण बिहानैदेखि रुंगेर बसेका ग्राहकहरुलाई पैसा दिंदादिंदै पैसा सकिने गरेकोले पनि समस्या बढेर गएको बुझिएको छ | स्टेट ब्यांककै एटीएमको झनै कुरा नगरे हुन्छ जसमा आजसम्म पनि पुगिसरी पैसा हाल्न सकिएको छैन | अर्कोतिर केही बर्ष अघि यसै ब्यांकको जिरो ब्यालेन्स एकाउन्ट खोल्ने ग्राहकहरुले झन धेरै नै समस्या भोगिरहेको गुनासो थियो भने यसलाई केही महिना अघि यहाँको मङपु जनमैदानमा एउटा क्याम्पको आयोजन गरि साधारण एकाउन्ट बनाउने कार्य भएको थियो | तर साधारण एकाउन्ट बनाए पनि यसको शाखा भने जलपहाडमा स्थित स्टेट ब्यांक भएको कारण समस्या दोब्बर भएर गएको छ | जसको कारण मङपु क्षेत्रका स्टेट ब्यांकका खाताधारीहरु पैसा निकाल्न र ब्यांकको कतिपय कार्य गर्न जलपहाड जान परे १२, १३ सय रुपियाँमा गाडी रिजर्व गरेर जान पर्ने साथै सिन्कोना बगानको मासिक तनाखा लिन यसरी नै रिजर्व गरेर जान परेको गुनासोहरु पनि जनसाधारणले गरेको छ | बिशेष गरेर ट्रान्जेकशन र जनघनत्व धेरै रहेपनि मङपुमा आजसम्म स्टेट ब्यांकको शाखा स्थापित नहुनु नै समस्याको मुख्य जड मानिएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?