आज गुड फ्राइडे साथै नेपाली नयाँ साल पहिलो बैसाखको अवसरमा यहाँको जोगीघाट परिसर साथै रियाङ खोलामा पिकनिक खेल्न मानिसहरुको धुइरो लागेको थियो | मङपु अनि सिटोङको सिमानामा पर्ने जोगीघाट परिसरमा आज मङपु, सिटोङ अनि यसका वरिपरिका क्षेत्रहरु लगायत खरसाङ अनि दार्जीलिंगका मानिसहरु गाडीको गाडी बनभोज खेल्न आइपुगेका थिए | हुन त यो परिसरमा बनभोज खेल्न अनि पर्यटकहरुको निम्ति मनोरन्जनात्मक कुनै पनि कृतिम सुविधाहरु नभए पनि शहरको कोलाहलदेखि धेरै टाडा, शान्त रियाङ खोला साथै चारैतिर हरियाली बन जंगल, प्राकृतिक मनोहर दृश्यहरुको आकर्षणले गर्दा कुनै बिशेष विज्ञापन बिना नै दिनोदिन पर्यटकहरु साथै बनभोज खेल्ने समुहहरु धुइरो लागेको देखिएको छ | केहीवर्ष अघि यसै परिसरमा जीटीए द्वारा कृषि मेलाको आयोजन अनि स्टील ब्रीजको निर्माण गर्दै योग गुरु बाबा रामदेव द्वारा उद्घाटन गरेपछि यस क्षेत्रको ह्वात्तै प्रोमोट भएको अनुमान लगाइएको छ भने यो स्टील ब्रीज सेल्फी नाखिचि नहुने केन्द्र बिन्दु बनेको पाइएको छ | बनभोज खेल्ने समुह लगायत त्यसै घुम्न आउने मानिसहरु साथै यसै ब्रीज भएर हिड्ने देशी अनि बिदेशी पर्यटकहरु पनि एकैछिन भए पनि गाडी रोकेर ब्रीजमा सेल्फी खिच्ने गरेको पाइएको छ | अर्कोतिर जोगीघाट परिसरमा धेरै अघिदेखि विभिन्न कार्य योजनाहरु शुरु गर्ने हल्ला चलेको थियो जसमा बाबा रामदेवको पतंजली योगपीठको निर्माण मुख्य रहेको भएपनि आजसम्म कुनै पनि योजनाले कार्यरूप लिन सकेको छैन | खोलावारीको जमीन सिन्कोना विभागको पर्छ जहाँ पुस्तौंदेखि बन्जर खाली टार रहिआएको छ भने यस टारमा सिन्कोना बगानले नै कुनै चिल्ड्रेन पार्क, पिकनिक स्पोटको निर्माण गरि यसै परिसरमा सिन्कोना बगानमा पाउन सकिने विभिन्न प्रकारको औषधिमुलक झार पात, फल फूल आदिको संग्राहलय तथा प्रदर्शनी केन्द्र निर्माण गरि प्रवेश शुल्क उठाउन सके यसले बगानमा थप आय श्रोतको माध्यम हुन सक्ने साथै पर्यटकहरुको निम्ति अझ धेर सुविधा नै आकर्षण बन्न सक्ने अड्कल काटिएको छ | जे होस् वरिपरिका क्षेत्रहरुको निम्ति नजिकको बनभोज केन्द्र जोगिघाट परिसरमा बिशेष गरेर शहर बजारको कोलाहलदेखि वाक्क भएकाहरुलाई छुट्टीको समय मनोरम प्राकृतिक दृशहरुको मजा उठाउँदै शान्त ठाउँमा बनभोज खेल्न खुबै मजा लाग्ने केही बजारे समुहले बताएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?