मङपू युथ क्लबको आयोजना अनि मङपू जनमैदानमा सम्पन्न भइरहेको गोल्ड कप टुर्नामेन्टको आज अन्तिम क्वाटर फाइनल टीए दार्जीलिंग (TA Darjeeling) अनि एनबीएसटी माझ घमाशान रुपले सम्पन्न भयो | दर्शकहरुको घुइँचो रहेको जनमैदानमा शुरु देखि नै खेल खुबै रोचक बनेर गएको थियो भने खेल शुरु भएको १४ मिनट बित्दा टीए दार्जीलिंगको पक्षबाट एउटा दर्शनीय गोल भएपछि खेलको मजा अझ बढेर गएको थियो | एनबीएसटीका खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेपनि राम्रो मौकामा धेरैवटा गोल गर्न नसक्दा पूर्वार्धको खेलको ४० मिनटमा फेरि टीए दार्जीलिंगको खेलाडी जर्सी नम्बर १२ ले अर्को गोल थपेर विपक्षी दललाई हरेस खुवाएका थिए |
मध्यान्तरपछिको खेलमा एनबीएसटीले आफ्नो कमजोरीलाई सच्चाएर खेल धुवाँदार बन्यो जसको कारण एक गोल सुलाउन सफल भए पनि निर्धारित समय सम्म थप गोल गर्न नसक्दा एनबीएसटीले दार्जीलिंग टीए अघि घुँडा टेक्न बाध्य बन्यो |
अघिल्लो दिनको म्याच एमवाइसी मङपू बनाम दार्जीलिंग एफसी माझ सम्पन्न भएको थियो जसमा एमवाइसीले १ गोलको विरुद्ध २ गोल गरेर सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएका थिए भने आउँदो ७ नोभेम्बरको दिन हुने पहिलो सेमीफाइनलमा एमवाइसी मङपूको बिर्तामोड एफसी नेपालसित भिडन्त हुनेछ | यसरी नै अर्को पोलबाट ८ नोभेम्बरमा हुने दोश्रो सेमीफाइनलमा आज खेल्ने टीए दार्जीलिंगको केएफसी सिलिगुडीसित भिडन्त हुने भएको छ ||